ईश्वरी कर्माचार्यका २ कृति लोकार्पण

समाधान संवाददाता २०८२ वैशाख ३० गते १३:३४

काठमाडौं ।
लोमश वाङ्मय प्रतिष्ठानद्वारा आयोजित विधा विशेष मासिक रचना वाचन कार्यक्रममा ‘प्रतिरोधी स्वरहर’ शीर्षकअन्तर्गत प्रतिनिधिमूलक कविता रचनाहरू प्रस्तुत गरिए। सोही अवसरमा वरिष्ठ नागरिक ईश्वरी कर्माचार्यद्वारा लिखित दुई कृति—उपन्यास ‘प्रत्यागत’ र कथा संग्रह ‘गङ्गाजल’ को लोकार्पण गरिएको थियो।

Advertisement

प्राज्ञ परिषद् सदस्य तथा मूर्धन्य साहित्यकार डा कृष्णराज अधिकारीले लेखकले आफ्नो उद्देश्य, लक्ष्य र माध्यम स्पष्ट पार्नुपर्नेमा जोड दिए। उनले भाव, कल्पना, विम्ब र प्रतीकको संयोजन लेखनको आत्मा भएको उल्लेख गर्दै लेखन समाज रुपान्तरणको मूल साधन बन्न सक्ने बताए।

उपन्यास ‘प्रत्यागत’ का बारेमा टिप्पणी गर्दै प्रगतिवादी सर्जक तथा समालोचक डा हरिप्रसाद सिलवालले कर्माचार्यको रचनामा माटोप्रेम र रागात्मक प्रेमको द्वन्द्व चित्रण गरिएको बताए। पात्र रचनात्मक प्रेममा असफल भए तापनि देशप्रेममा सफल भएको कुरा उल्लेख गर्दै पुस्तकलाई गहिरो सन्देश दिने उत्कृष्ट कृति बताए।

Advertisement

कथा संग्रह ‘गङ्गाजल’ को परिचर्चामा नागार्जुन वाङ्मय प्रतिष्ठान अध्यक्ष दिल पौडेलले कतिपय विषयले समाजमा भ्रम सिर्जना गर्न सक्ने भए तापनि समग्र विषयवस्तु सशक्त रहेको टिप्पणी गरे। उनले पुस्तकका शीर्षकहरूको गहिरो विश्लेषण प्रस्तुत गरे।

लोमश वाङ्मय प्रतिष्ठान अध्यक्ष माधव घिमिरे ‘अटलु’ ले प्रतिरोधी स्वरलाई समेटिएको यस महिनाको कार्यक्रममा रौतहट र हेटौंडाबाट समेत कविहरूको सहभागिता भएको बताए। पाँच जना कविले तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने शैलीमा रचना सुनाएका थिए।

Advertisement

कृतिकार ईश्वरी कर्माचार्यले आफूले ७६ वर्षको उमेरबाट लेखन यात्रा सुरु गरेको जानकारी दिँदै आफ्नो सिर्जनशीलताको पछाडिको प्रेरणा व्यक्तिगत अनुभव रहेको बताए। उनले भावुक हुँदै भने, “सम्भवतः मेरी कान्छी श्रीमतीसँग सम्बन्धविच्छेद नभएको भए म यो क्षेत्रमा लाग्ने थिइनँ होला।”

कार्यक्रममा विशेष कविका रूपमा आमन्त्रित कविहरू केशव सिलवाल, यश लामा, शोभा दुलाल, दिल पौडेलले प्रगतिशील कविता सुनाए भने पुरुषोत्तम आचार्यले छन्दोबद्ध कविता साथै एक श्रमिक उत्थान गीत प्रस्तुत गरे।

साहित्यिक समारोहको आकर्षणको रुपमा प्रारम्भ वर्ल्डका झन्डै एक दर्जन बाल स्रष्टाले ‘आमा’ विषयमा केन्द्रित आफ्ना सिर्जनाहरू प्रस्तुत गरे। साथै कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, खुसीराम डौलिया, सञ्जय सोती, बलराम विष्ट, गोपालकृष्ण अधिकारी, सुगीता शाह, समाश्री, गोमा चालिसेलगायत डेढ दर्जन सर्जकले आफ्ना रचनाहरु सुनाए।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार कर्माचार्य, कर्माचार्य सेवा समाज महासचिव मिलन कर्माचार्य, सञ्चारकर्मी उत्तमकुमार श्रेष्ठलगायत अतिथिहरूले कृतिको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रमको स्वागत गजलकार अप्सरा के।सी।ले गरेकी थिइन् भने सञ्चालन सचिव नवीन पल्लवले र फेसबुक प्रत्यक्ष प्रसारण गीतकार अनुप खनालले गरेका थिए।

तपाईको प्रतिक्रिया