गण्डकी प्रदेशको राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीहरुको विरोध, तत्काल खारेजीको माग

समाधान संवाददाता २०८२ जेठ १ गते १४:३६

Advertisement

पोखरा

गण्डकी प्रदेश सरकारले संघीय कानुनविपरीत र सार्वजनिक यातायात व्यवसायीहरुको चासोलाई उपेक्षा गर्दै ल्याएको ‘राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) सम्बन्धी नियमावली २०८२’ विरुद्ध सार्वजनिक यातायात व्यवसायी संगठनहरुले तीव्र असन्तोष जनाएका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै सो नियमावली तत्काल खारेज गर्न माग गरेको छ । नियमावली खारेज नभएमा सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरी अगाडि बढ्ने चेतावनी दिइएको छ ।

महासंघ गण्डकीका सचिव गान्धिराज गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, गण्डकी प्रदेश सरकारले मिति २०८२ वैशाख ३० गते मन्त्रिपरिषद्को बैठकमार्फत एकपक्षीय ढंगले नियमावली पारित गरेको छ, जुन सरोकारवाला यातायात व्यवसायीहरूसँग कुनै छलफल नगरी गरिएको कार्य हो।

Advertisement

विज्ञप्तिमा भनिएको छ, “राइड शेयरिङ्गलाई यसरी मान्यता दिनु सवारी साधनको वर्गीकरण प्रणालीलाई नै खारेज गर्नुजस्तै हो, जसले देशभरको सार्वजनिक यातायात प्रणालीमा गम्भीर असर पार्नेछ।” महासंघले यसअघि पनि यस विषयमा निरन्तर विरोध जनाउँदै आन्दोलन गर्दै आएको स्मरण गराउँदै गण्डकी प्रदेश सरकारको पछिल्लो निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले प्रदेश सरकारले ल्याएको नियमावलीलाई कानुनीरूपमा अमान्य ठहर गर्दै त्यसको खारेजी नभएसम्म दबाबमूलक आन्दोलनलाई थप तीव्र बनाउने जनाएको छ।

तपाईको प्रतिक्रिया