युवालाई आत्मनिर्भर बनाउन कसर बाँकी राखिन्नः मन्त्री थापा

समाधान संवाददाता २०८२ जेठ १ गते १५:५९

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा तालिम परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयको आयोजनामा भएको परियोजना निर्देशन समितिको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।

Advertisement

‘युवाहरूलाई लक्ष्य गर्दै सञ्चालित यी परियोजनाहरूले सीप, दक्षता र रोजगार सुनिश्चिततामा उल्लेखनीय प्रभाव पार्नेछन् । प्रदेश सरकारले दिगो भविष्य निर्माणका लागि यस्ता योजनाहरूलाई प्राथमिकतामा राखेको छ,’ उनले भने । मन्त्री थापाले गुणस्तरीय प्राविधिक तालिम र सीप विकास कार्यक्रमले वैदेशिक रोजगारीमा जाने, स्वरोजगारको सम्भावना खोज्ने तथा उद्यमशील बन्न चाहने युवाहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

मन्त्री थापाले मन्त्रालयले स्विजरल्यान्ड सरकारको सहकार्यमा शिक्षा क्षेत्रका तीन महत्वपूर्ण प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभिईटी) परियोजनाहरू कार्यान्वयन गर्दै आएको जानकारी गराए । स्विस विकास सहकार्य (एसडीसी) का प्रमुख माथिएस मेयरले युवाको वृतिविकासमा गण्डकी प्रदेश सरकारले गरेको कामको प्रशंसा गरे । उनले नीजि क्षेत्रसँग मिलेर साझेदारी मोडलमा गरेको कामलाई उदाहरणका रूपमा लिएका छन् । उनले मानवसंसाधनको विकासमा स्विस सरकारसँग साथमा रहेको समेत प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयका सचिव नवराज ढकालले प्राविधिक र व्यवसायिक शिक्षालाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । स्विस सरकारलाई निरन्तर सहयोग गरिराख्न उनको अनुरोध छ । स्थानीय तहसँग समन्वय गर्दै मन्त्रालयले आफ्ना काम, कर्तव्य र अधिकारलाई अगाडि बढाउँदै लगेको बताए ।

नेपाल उद्योग वाणिज्य संघ गण्डकीका संस्थापक अध्यक्ष संजीव कोइरालाले स्विस सरकारले दिएको सहयोगलाई आम मजदुरहरूको सीप परिक्षणका लागि खर्च गर्नुपर्ने आवश्यकतालाई औंल्याए । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले प्राविधिक सीपयुक्त शिक्षालाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । जैमिनी नगरपालिका बाग्लुङका उपप्रमुख हरिहर शर्मा लगायतले बोलेको कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख तोयानाथ लम्सालले परियोजनाको प्रगतिका विषयमा जानकारी गराएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया