रिठ्ठेपानी डाँडा कटानमा अनियमितता ? महालेखा परीक्षण प्रतिवेदनले उठायो प्रश्न

समाधान संवाददाता २०८२ वैशाख ३१ गते १९:२८
फाइल तस्बिर

पोखरा ।

चीन सरकारको सहयोगमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा रिठ्ठेपानी डाँडा कटानमा देखिएको आर्थिक गतिविधि र प्रक्रियालाई महालेखा परीक्षकको प्रतिवेदनले शंकास्पद बताएको छ।

विमानस्थलको पूर्वतर्फ करिब १.५ किलोमिटर दूरीमा रहेको रिठ्ठेपानी डाँडा विमानस्थलको फ्लाइट प्रोसिड्योर डिजाइनमा अवरोध हुने भन्दै काट्नुपर्ने देखाइएको थियो। त्यसको लागि रु. ३२ करोड ६८ लाख लागत अनुमान गरिएको थियो भने, रु. ३२ करोड ३० लाखमा संयुक्त उपक्रमसँग ठेक्का सम्झौता भएको देखिन्छ।

Advertisement

महालेखा प्रतिवेदनअनुसार, २०७५ सालमा पोखरा महानगरपालिका–२६ नं. वडा कार्यालयले पठाएको पत्रमा स्थानीय बासिन्दाहरूले आफूहरूले नै माटो काट्न अनुमति मागेको उल्लेख छ। तर परियोजनाले कटान गर्नुपर्ने कुल माटोको परिमाण र स्थानीय बासिन्दाले काट्ने परिमाणको कुनै स्पष्ट अभिलेख राखेको छैन। सो अभिलेखबिना नै ठेक्का सम्झौता गरी सार्वजनिक खर्च देखाइएको हो।

त्यसैगरी, निर्माण कार्यका लागि बोलपत्र पेस गर्ने १० मध्ये ९ बोलपत्रदाताको कर चुक्ता प्रमाणपत्र र बिड बण्डको वैधता नपाएको उल्लेख छ। यस्ता कमजोरी हुँदाहुँदै पनि एक जना बोलपत्रदातासँग लागत अनुमानभन्दा ०.०९ प्रतिशत कम दरमा ठेक्का सम्झौता गरिएको छ।

Advertisement

ठेक्का अनुसार, ४ लाख २० हजार ४२८ घनमिटर माटो कटान र विसर्जन गर्न निर्माण व्यवसायीले रु. २९ करोड ६९ लाखको कबोल गरेको देखिन्छ। तर अन्तिम बिलअनुसार ९९.४९ प्रतिशत अर्थात् रु. २९ करोड ५४ लाख भुक्तानी भइसकेको छ।

तपाईको प्रतिक्रिया