महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, गण्डकीमा बेरुजु अंक १० प्रतिशत थपियो

पोखरा ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षक कार्यालयले सातौं वार्षिक प्रतिवेदन पेश गरेको छ ।
उप–महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले बिहीबार सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताए । ‘आर्थिक अनुशासन भएमात्र सुशासन कायम हुनेछ । बेरुजु बढ्दै जानु भनेको सुशासनका लागि चुनौती थपिनु हो ।’ प्रदेश प्रमुखले भने, ‘बेरुजु रकमलाई जति कम बनाउन सकिन्छ उति नै आर्थिक समृद्धि हाँसिल हुन्छ । आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका तीनै तह जिम्मेवार बन्नुपर्नेछ । सरकारी कर्मचारीहरू जवाफदेही बन्नुपर्दछ ।’
कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव बद्रिनाथ अधिकारी, महालेखा परीक्षकको कार्यालयका नायव– महालेखापरीक्षक राजेन्द्रराज ओझा लगायत सहभागी थिए ।
गत आर्थिक वर्षमा प्रदेश मन्त्रालय तथा निकाय १ सय ८३ र समिति र अन्य संस्था २० गरी २ सय ३ वटा कार्यालयको ४१ अर्ब २० करोड रुपैयाँको लेखा परीक्षण गएको थियो ।
प्रतिवेदन अनुसार प्रदेश सरकारको अध्यावधिक बेरुजु गत वर्षभन्दा १० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ५१ करोड ९८ लाख रुपैयाँ बेरुजु थपिँदा हालसम्म गण्डकीको बेरुजु २ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
पछिल्लो प्रतिवेदन अनुसार कुल बेरुजुमध्ये सरकारी कार्यालयतर्फ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको सबैभन्दा बढी ५९ दशमलव २२ प्रतिशत छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको १५ प्रतिशत र उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको १३ प्रतिशत बेरुजु छ ।
प्रदेशमा बन्नुपर्ने कानुन नबनाएको तर केही कानुनमा भने बढी प्राथमिकता दिइएको महालेखाले उल्लेख गरेको छ । यसैगरी दरबन्दी र पदपुर्ति अनि अभिलेख र दायित्व पारदर्शी नभएको, बारम्बार मन्त्रालयको कार्यक्षेत्र हेरफेर भएको विषयलाई सैद्धान्तिक रुपमा उठान गरिएको छ ।










लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया