गण्डकी र बागमतीका अनुभव साटसाट

समाधान संवाददाता २०८२ जेठ १ गते १९:१४

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीको उपस्थितिमा भएको छ । कार्यक्रममा प्रदेशबीच श्रम, रोजगार र उद्यम प्रवद्र्धनसम्बन्धी नीतिगत तथा कार्यान्वयन पक्षमा गरिएका कामहरूको अनुभव साझा गरियो ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्ने समस्या गम्भीर भएको र उक्त समस्यालाई समाधान गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । ॅगण्डकी प्रदेश सरकार युवालाई सीप सिकाएर स्वदेशमै अवसर सिर्जना गर्ने अभियानमा छ । सीप विकास तालिम केन्द्र र व्यवसायिक तालिम प्रतिष्ठान (जिटीईभीटी)मार्फत सीपमूलक तालिम दिइरहेका छौं,’ उनले भने ।

मन्त्री थापाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन गण्डकी सरकार कानुन निर्माण चरणमा रहेको उल्लेख गरे । व्यवसायिक क्षेत्रमा जनशक्तिको अभाव भएको बताउँदै आफू पनि व्यवसायिक फिल्डबाट आएको मान्छे भएकाले यो समस्या अनुभूति गरेको उनले बताए ।

उद्यमशीलता प्रवद्र्धन र राइट सेयरिङ कार्यविधि जस्ता माध्यमबाट गण्डकी सरकारले पार्ट टाइम रोजगारीको ढोका खोल्दै गरेको अभिव्यक्ति उनको छ । सीपमूलक शिक्षा र उद्यममैत्री वातावरणले वैदेशिक रोजगारीकै कारण देखिएको सामाजिक असन्तुलनलाई चिर्न सक्ने विश्वास मन्त्री थापाले गरेका छन् ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सिक्ने अवसर मिल्नु नै मुख्य कुरा भएको बताए । प्रदेशले गरेका राम्रा कामहरू जनताको बीचमा नलाँदा त्यसको औचित्यमाथि प्रश्न उठ्को भनाइ उनको छ । ॅहामीले गरेका राम्रा अभ्यासलाई जनतासामु लैजानै पर्छ । गण्डकी प्रदेशका राम्रा पक्षहरू बागमतीले सिक्न सक्छ, र बागमतीका अभ्यासहरू गण्डकीले पनि लिनुपर्छ’, उनले भने ।

Advertisement

सामीको कार्यक्रम जनताको भोगाइसँग प्रत्यक्ष जोडिएको उत्कृष्ट कार्यक्रम भएको उनले उल्लेख गरे । रोजगार सिर्जनामा केन्द्रित बजेट र मानव संसाधन विकासमा केन्द्रित नीति–कार्यक्रम अबको अपरिहार्य रहेको उनले बताए । उनले रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै भौतिकभन्दा मानव विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई औंल्याए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार र बागमती प्रदेश सरकारले श्रम रोजगारीको क्षेत्रमा गरेका प्रयास तथा सामी कार्यक्रमको हालसम्मको संक्षिप्त प्रगति विवरण पेश गरेका थिए । दुबै प्रदेशका सचिवहरू, सम्बन्धित मन्त्रालयका निर्देशक तथा कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने, उद्यमशीलता विकास गर्ने र प्रदेश स्तरमै रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया