गण्डकीमा नियम विपरीत २ अर्ब ९८ करोडको रकमान्तर, संसदीय नियन्त्रणमाथि प्रश्न

पोखरा । प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९ को नियम २९ (१) मा सुरुमा बजेट विनियोजन नभएका शिर्षकहरूमा रकमान्तर गर्न नपाइने प्रस्ट व्यवस्था छ । तर, महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले प्रदेश सरकारहरूले यो कानुनी व्यवस्था उल्लंघन गर्दै ठूलो परिमाणमा नियमविपरीत रकमान्तर गरेको खुलासा गरेको छ ।
महालेखाको सातौं प्रतिवेदनअनुसार, सुरुमा बजेट विनियोजनै नभएका अवस्थामा गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले आव २०८०/८१ मा विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहका १ हजार १ सय ४२ योजनामा २ अर्ब ९८ करोड ३६ लाख २० हजार रकमान्तर गरिएको छ । जसमध्ये १ अर्ब ३७ करोड ७० लाख २८ हजार खर्च भएको छ ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा मात्र १ सय ३० योजनामा ६ करोड २६ लाख १९ हजार रकमान्तर गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका २ सय १० योजनामा ८ करोड ९ लाख २८ हजार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका २ सय ७२ योजनामा ९ करोड ५१ हजार र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका १ सय ४८ योजनामा ६९ करोड १ लाख १९ हजार विनियोजनबाहिरबाट रकमान्तर गरिएको हो ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा २ सय ४१ योजनामा ३२ करोड ५८ लाख ७ हजार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अन्य निकायहरूमा ७१ कृयाकलापमा १२ करोड २४ लाख ५५ हजारको रकमान्तर भएको छ ।
त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सशर्त अनुदान शीर्षकमा सुरुमा १ करोड मात्रै विनियोजन गरिएको थियो । तर, थप ७५ लाख रकमान्तर गरी कुल १ करोड ४९ लाख ९० हजार निकासा गरिएको देखिन्छ । यस्तै, ‘कडा रोगबाट पीडितलाई राहत’ शीर्षकमा सुरुमा १ करोड विनियोजन गरिएकोमा थप ४ करोड ३३ लाख ७५ हजार रकमान्तर गरी कुल ५ करोड ३३ लाख ७५ हजार निकासा गरिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले आर्थिक वर्षको अन्त्यतिर अत्यधिक रकमान्तर गरिएको र योजनाहरूको आवश्यक अध्ययन बिना रकम विनियोजन भएको देखिएको उल्लेख गरिएको छ । नियमविपरीत यस प्रकारको रकमान्तरले बजेट प्रक्रिया माथि संसदीय निगरानी र वित्तीय अनुशासन कमजोर भएको संकेत दिएको छ ।
महालेखाले सरकारलाई प्रष्ट सन्देश दिएको छ—रकमान्तर गर्दा प्रचलित कानुन र वित्तीय उत्तरदायित्व नियमावलीको पूर्ण पालना अनिवार्य छ । अन्यथा, सार्वजनिक खर्चमा अनियमितता र अपारदर्शिता बढ्ने खतरा रहेको प्रतिवेदनको चेतावनी छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को असार महिनामै ९४ करोड ८९ लाख १५ हजार रुपैयाँ बजेट रकमान्तर गरी खर्च गरेको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार, प्रदेश सरकारले स्वीकृत बजेट तथा खर्च शीर्षकको मर्यादा नमानिकन मनपरी ढंगले रकम सारेर (रकमान्तर गरेर) खर्च गरेको देखिएको छ, जसले आर्थिक अनुशासन र सार्वजनिक वित्तीय पारदर्शितामा गम्भीर चुनौती उत्पन्न गरेको छ ।









कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया