गण्डकीको कानुन सचिवमा दनाईं, आन्तरिकमा गिरी

पोखरा । गण्डकीको कानुन सचिवमा रामजी दनाईं आएका छन् । गण्डकीका सचिव धर्मराज कुइँकेल उमेरहदका कारण अवकाश भएपछि पद रिक्त थियो । दनाईं लुम्बिनी प्रदेशमा कानुन सचिव थिए । न्याय सेवा आयोगले ७ सहसचिवको सरुवा गर्दा उनी पनि परेका हुन् । गण्डकीमा आएर मन्त्रिपरिषद बैठकले पदस्थापनको निर्णय गरेपछि उनले कानुन सचिवको जिम्मेवारी पाउने छन् ।
गण्डकीमा अलग्गै कानुन मन्त्रालय छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत कानुन तथा संवैधानिक मामला महाशाखा राखिएको छ । जसमा न्याय वा कानुन समूहको सचिव महाशाखा प्रमुख रहने प्रावधान छ ।
यसैगरी आन्तरिक मामिला सचिवको जिम्मेवारी ध्रुव गिरीले पाएका छन् । २ साता अघि गण्डकीमा आएका गिरीलाई मन्त्रिपरिषद बैठकले आन्तरिक सचिवमा पदस्थापन गरेको हो । आन्तरिक मामिला पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत नै छ । गिरीले आन्तरिक मामिला तथा सञ्चार महाशाखाको जिम्मेवारी पाएका छन् । गिरी प्रदेश स्थापनाकालमा आन्तरिक मामिला मन्त्रालयमा उपसचिव थिए । सहसचिवमा बढुवा भएपछि उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गण्डकी पठाएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुखसचिव वाहेक ४ सचिव रहने व्यवस्था छ । ४ मध्ये आन्तरिक सचिवको पद लामो समयदेखि रिक्त थियो ।
प्रदेशका प्रमुख सचिव रघुराम विष्ट उमेरहदका कारण यही जेठको २३ गते अवकाश जाँदैछन् । संघमा बढुवा भएका नयाँ सचिव प्रदेशको प्रमुख सचिवमा आउनेछन् । हालै बढुवा भएका शोभाकान्त पौडेलको नाम चर्चामा छ । वागमतीका प्रमुख सचिवलाई संघमा तानेर पौडेललाई बागमती पठाउने सम्भावना छ । छिटै अर्को सचिव पद पनि रिक्त हुने भएकाले पौडेलवाहेकका सचिव गण्डकीको प्रमुख सचिवमा आउनेसक्ने सम्भावना पनि उत्तिकै छ ।
तपाईको प्रतिक्रिया