अल्फा बोर्डिङ स्कुलमा नमुना मतदान

पोखरा ।
पोखरा १६ लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा शुक्रबार विद्यार्थीलाई निर्वाचनको सम्पूर्ण प्रक्रिया जानकारी गराउने उद्देश्यका साथ विद्यार्थी परिषद एवम् जुनियर रेडक्रस सर्कलका विभिन्न पदका लागि निर्वाचन भएको छ ।
निर्वाचनमा विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी प्रमुख आयुक्त, सहप्राचार्य कृष्ण लम्साल निर्वाचन आयुक्त, निराजन थापा निर्वाचन अधिकृत एवं विजयबाबु अधिकारी मतदान अधिकृतको भूमिकामा थिए भने विद्यार्थीकै सक्रियतामा नमुना सुरक्षाकर्मीको भूमिका निर्वाह गरिएको थियो । विद्यार्थीलाई मताधिकार, मतदान प्रक्रिया, जनप्रतिनिधि छनोट साथै निर्वाचन प्रणालीको व्यवहारिक ज्ञान दिनका लागि मतपत्र, मतपेटिका, स्वस्तिक चिन्हसहित उक्त नमूना मतदान आयोजना गरिएको विद्यालयका सहप्राचार्य कृष्ण लम्सालले जानकारी दिए ।
प्राचार्य भण्डारीले विद्यार्थीमा यस्ता कार्यक्रमले व्यवहारिक ज्ञान दिनेमा आपूm विश्वस्त रहेको कुरा जानकारी दिए । विद्यार्थी परिषदका विभिन्न पदका लागि भएको निर्वाचनमा कक्षा १० मा अध्ययनरत अभिषेक श्रेष्ठ १ सय २७ मतसहित अध्यक्ष, कक्षा ९ का छात्र सेरन पुन १ सय ४५ मतसहित उपाध्यक्ष र कक्षा ८ मा अध्ययनरत छात्रा सेलेस्टी गुरुङ १ सय ७ मतसहित सचिव पदमा निर्वाचित भए ।
जुनियर रेडक्रस सर्कलका विभिन्न पदका लागि भएको निर्वाचनमा कक्षा १० मा अध्ययनरत विद्यार्थी समर पुर्जा १ सय ३ मतसहित अध्यक्षमा, कक्षा ९ की छात्रा जोए नेफिल गुरुङ १ सय ३१ मतसहित उपाध्यक्षमा, कक्षा ८ की छात्रा प्रकृति अधिकारी १ सय २ मतसहित सचिव पदमा र कक्षा ८ कै छात्र प्रतीक केसी १ सय ४३ मतसहित कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी मतदाता रहेको निर्वाचनमा ९३.७ प्रतिशत भोट खसेको थियो । निर्वाचनमा ८.७ प्रतिशत मत बदर भएको छ ।
तपाईको प्रतिक्रिया