हिमालय आँखा अस्पतालबाट १ वर्षमा साढे २ लाख जनाको उपचार

समाधान संवाददाता २०८२ जेठ ३ गते १८:३४

पोखरा । हिमालय आँखा अस्पतालले १ वर्षमा २ लाख ४३ हजार ५ जनाको आँखा जाँच गरेको छ । यो सन् २०२४ मा अस्पताल पुगेर र शिविरबाट सेवा उपचार लिनेको संख्या हो ।
नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखराको आयोजनामा भएको वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठीमा अस्पतालबाट १ लाख ८९ हजार ७२ जना र आँखा शिविरमा ५३ हजार ९ सय ३३ जनाले आँखा जाँच गरेको जानकारी दिइयो । आइ केयर फाउन्डेसनको सहयोगमा भएको कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले एक वर्ष भित्रमा जनरल स्क्रिनिङ, सर्जिकल र स्कुल स्क्रिनिङ क्याम्प गरी २ सय ८ शिविर गरिएको जानकारी दिइन् ।
वर्षमा ९३ स्थानमा भएको जनरल स्क्रिनिङ क्याम्पबाट १७ हजार ३ सय ९० जनाले लाभ लिएको डा गुरुङले बताइन् । जसमा ६ हजार ३ सय जनालाई सर्जरीका लागि पोखरा रिफर गरिएको थियो । गत वर्ष ५५ वटा सर्जिकल क्याम्पमा १७ हजार ३ सय ३ जनाको आँखा जाँच गरिएकोमा २ हजार १ सय ५३ जनालाई सर्जरीका लागि पोखरा रिफर गरिएको उनले सुनाइन् ।
६० वटा स्कुलमा गरिएको स्कुल स्क्रिनिङ क्याम्पबाट १९ हजार २ सय ४० विद्यार्थीले लाभ लिएका थिए । योबाहेक अस्पतालमै पुगेर ओपिडी सेवा लिनेमध्ये १० हजार ३ सय १६ जनाको सर्जरी गरिएको डा गुरुङले जानकारी दिइन् । ओपिडी सेवा लिनेमा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका धेरै रहेको उनले बताइन् ।
त्यसपछि ४१ देखि ६० वर्ष उमेर समूहका मानिस आँखा समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले राज्यले गर्नुपर्ने काम आँखा हस्पिटलले गरिरहको बताए । उनले भने, ‘यो क्षेत्रमा राज्य जति प्राथमिकता दिनुपथ्र्यो, त्यो अवस्था रहेको छैन ।’ बजेट अभावका बिचमा काम अघि बढ्न नसकेको उनको भनाइ छ । गोष्ठीमा संस्थाका अप्ठेरा, उपलब्धि र चुनौतिका विषयमा छलफल गरी आगामी दिनको बाटो सहज बनाउन उनको सुझाव थियो ।
कार्यक्रममा मन्त्रीले पाठकले प्रदेश सरकार नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा रहेकाले आगामी दिनमा स्वास्थ्य क्षेत्रका लागि सुहाउँदो बजेट ल्याउने बताए । त्यसमा आँखा स्वास्थ्यका लागि पनि केही न केही योजना बनाएरअघि बढ्ने उनले सुनाए ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष डा दीलबहादुर क्षेत्रीले हरेक नेपालीको आँखा स्वास्थ्यमा प्रभावकारी सेवा प्रदान गर्नका लागि सोही अनुसार योजना बनाउनुपर्नेमा जोड दिए । यसका लागि आँखाको क्षेत्रमा काम गरिरहेका संघ, संस्थासँगै तीनै तहका सरकार स्वास्थ्य क्षेत्रमा जवाफदेही हुनुपर्ने उनले बताए ।
संघका केन्द्रीय सचिव हरिप्रसाद शर्माले हिमालय आँखा अस्पतालको भौतिक पूर्वाधारसँगै प्राविधिक क्षेत्रको विकासका विषय गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने बताए । नेत्रज्योति संघका आँखा अस्पताल र आँखा उपचार केन्द्रको स्तर वृद्धिका लागि थाइल्यान्डका प्रधानमन्त्री, नेपालका स्वास्थ्यमन्त्रीसँग चरणवद्ध विभिन्न विषयमा सम्झौता भइसकेको उनले जानकारी दिए ।
आई केयर फाउन्डेसनका नेपाल प्रतिनिधि अनिल गोर्खालीले गण्डकी प्रदेश सरकारको स्वास्थ्य नीतिमा आँखा छुट्न नहुनेमा जोड दिए । भौतिक पूर्वाधार विकासका लागि पनि सरकारले साथ दिनुपर्ने उनले बताए । आगामी दिनमा आँखा शिविरका लागि आई केयर फाउन्डेसनले सहयोग गर्दै जाने उनले प्रतिवद्धता जाहेर गरे ।
हिमालय आँखा अस्पताल पोखराका अध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरले गोष्ठीबाट आएका सल्लाह र सुझाव साथै योजनाका आधारमा यहाँको सेवालाई अझै चुस्तदुरस्त बनाउँदै लैजाने बताए । कार्यक्रममा लमजुङको भोटेओडार आँखा उपचार केन्द्रलाई उत्कृष्ट आँखा उपचार केन्द्रको रुपमा सम्मान पनि गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया