मुक्तिनाथको जग्गा कहाँ, कति छ ?

सुन्दरकुमार थकाली २०८२ जेठ ४ गते ५:४२

जोमसोम ।

Advertisement

मुक्तिनाथ मन्दिरको जग्गा मुस्ताङसहित ४ जिल्लामा रहेको पुष्टि भएको छ । मुक्तिनाथ विकास समितिको जग्गा मुस्ताङसहित म्याग्दी, पर्वत र स्याङ्जा जिल्लामा रहेको देखिएको छ ।

हिन्दू तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई आवास र भोजन व्यवस्थापन गर्ने उद्देश्यले तत्कालीन राजाका पालामा गुठी स्थापना गरी जग्गा व्यवस्थापन गरिएको थियो । त्यस बेला व्यवस्थापन भएको मुक्तिनाथ विकास समिति अन्तर्गत रहेका गुठीका जग्गा अहिले पहिचान गरिएको हो ।

म्याग्दीमा मुक्तिनाथको स्वामित्वमा २८ हजार ८ सय ९३ रोपनी जग्गा भएको अनुमान गरिएको थियो । तर, अहिले मुक्तिनाथको सीमितका नाममा मात्रै जग्गा रहेको समितिले जनाएको छ । पछिल्लो समय मुक्तिनाथ विकास समिति अन्तर्गत सदावर्त गुठीमा रहेको १७ हजार ६ सय ९६ रोपनीमध्ये समिति अन्तर्गत सदावर्त गुठीमा ६ हजार १ सय ४३ रोपनीमात्रै जग्गा रहेको मालपोत कार्यालय म्याग्दीले पुष्टि गरेको मुस्ताङका प्रजिअ एवं समितिका अध्यक्ष विष्णुप्रसाद भुसालले जानकारी दिए ।

म्याग्दी मालपोत कार्यालयको अभिलेखमा गुठी संस्थानको नाममा रहेको ११ हजार ५ सय २३ रोपनी जग्गा रैकरमा परिणत भइसकेको भुसालको भनाइ छ । मुक्तिनाथको सदावर्त गुठी अन्तर्गत म्याग्दीको साविक गाविस पिप्लेमा ४ हजार ५ सय ८५ रोपनी जग्गामध्ये एक हजार ९३ रोपनी, भगवतीमा ६ हजार ३ सय ३३ रोपनी जग्गामध्ये ४ हजार ३ सय ८७ रोपनी र मौवाफाँटमा ४ हजार ८ सय ९९ रोपनीमध्ये ३ हजार ६ सय ४४ रोपनी जग्गा रैकरमा परिणत भएको छ ।

Advertisement

मालपोत कार्यालय म्याग्दीले साविक गाविस दोवामा १ हजार १ सय ५७ रोपनी र कटुवालमा ६ सय ९२ रोपनी जग्गा गुठीकै नाममा रहेको जनाएको छ । मुक्तिनाथ मन्दिरको नाममा पर्वतको शिवालय ४ मा २२ रोपनी १३ आना र स्याङ्जाको गणेशपुर वडा २, ३ र ७ मा ४ रोपनी १५ आना जग्गा रहेको सम्बधित मालपोत कार्यालयहरुको अभिलेख छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ स्थित मुक्तिनाथमा ४ सय ९३ रोपनी १३ आना जग्गा रहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सहजताका लागि रानीपौवा कजारमा तत्कालीन समयमा धर्मशाला निर्माण गरिएको थियो । रानीपौवा धर्मशाला रहेको स्थानमा मुक्तिनाथ मन्दिरको ६ रोपनी १२ आना जग्गा छ ।

मुक्तिनाथ विकास समितिको हालसम्म गरगहना र सटही हुन बाँकी विदेशी मुद्राबाहेक ५ वटा बैंक खातामा ११ करोड रुपैयाँ मौज्दात छ । मन्दिरमा बर्सेनि ६ लाखभन्दा बढी तीर्थालु आउने गरेका छन् । त्यहाँ भक्तजनले दान गरेको रकम बर्सेनि करोडभन्दा बढी हुने गरेको छ ।

मुक्तिनाथमा आन्तरिक दर्शनार्थीसँगै उल्लेख्य रुपमा भारतीय दर्शनार्थी पुग्ने गरेको समितिका सदस्यसचिवसमेत रहेका मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद अर्यालले जानकारी दिए । मुक्तिनाथ विकास समिति चलायमान हुन नसक्दा मुक्तिनाथको समग्र विकासमा समस्या र चुनौती देखिएको छ । हालै समिति गठन भई विधान निर्माण र कार्य व्यवस्थापन नियमावली तयार गरेसँगै मुक्तिनाथमा भक्तजनले चढाएको भेटी मुक्तिनाथको विकासमा खर्च गर्ने बाटो खुलेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया