हलिउड फिल्म ‘टासी’को छायांकन टोली मुस्ताङमा

मुस्ताङ ।
पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायांकन गरिन लागिएको हो ।
हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो ।
नेपालका विभिन्न जिल्लामा छायांकन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिबेलामा भने छायाङ्कनका लागि यहाँ आइपुगेको छायांकन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए । उनका अनुसार उक्त फिल्मका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ट्रक ५० भन्दाबढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएका छन् ।
उक्त टोली यहाँ आएपछि जोमसोम र पुथाङ विमानस्थलका करिब दुई दर्जन होटल एक महिनाका लागि अग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए । घरपझोङ गाउँपालिका–५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ–१ को लक्कीमा सो फिल्मको छायाङ्कन हुने सहजकर्ता गुरुङले उल्लेख गरे ।
यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायाङ्कन गर्ने योजना रहेको गुरुङको भनाइ छ ।
सगरमाथा आरोही शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायत परिदृष्य फिल्ममा समेटिने बताइएको छ । मुस्ताङमा यो फिल्म छायाङ्कनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित यहाँका स्थानीय तहलाई ‘लोकेशन’ छायाङ्कनका लागि एक हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ ।
जिल्लाका तीन पालिकामा छायाङ्कन हुने फिल्मको युनिट आएसँगै जोमसोमका होटल भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए । पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै मुस्ताङमा हलिउड, बलिउड र कलिउड फिल्म छायाङ्कन गर्नेक्रम बढेको बताए । “मुस्ताङमा यस प्रकारका फिल्म छायाङ्कनले यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र फिल्मका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवर्द्धनमा ठूलो सहयोग पुर्याउँछ”, उनले भने ।
मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायाङ्कन भएको थियो । त्यसपछि सबैभन्दा ठूलो लागतको हलिउड चलचित्र ‘टासी’ छायाङ्कन हुन लागेको हो । मुस्ताङका धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायाङ्कन हुने चलचित्रले टेवा पुर्याउने गरेको छ । मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म छायाङ्कन भइसकेका छन् । यसैगरी सट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायाङ्कन केन्द्र बन्दै जान थालेको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया