पोखरा–२६ को वडा भवन निर्माण सुरु

समाधान संवाददाता २०८२ जेठ ४ गते १८:२९

भीमपाणि बराल
लेखनाथ
पोखरा महानगरपालिका वडा नम्बर २६ ले वडाबाट सबै सेवा प्रदान गर्ने गरी बहुउद्देश्यीय सामाजिक भवन बनाउने भएको छ ।
हाल वडाले अर्घौंचोकमा रहेको आफ्नै भवनबाट सेवा दिँदै आएको छ । तर उक्त भवन साँघुरो भएका कारण वडाले प्रदान गर्ने सबै सेवा सहज रूपमा दिन असुविधा भएकाले पोखरा–२६ को केन्द्रविन्दु मद्दतको पाटनमा करिब पाँच रोपनी क्षेत्रफल भित्र सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो ।

Advertisement


विभिन्न समयमा सार्वजनिक जग्गाको अतिक्रमण हुँदा स्थानीय अमर ज्योति गाउँफर्क माविले संरक्षण गरेर राखेको जग्गामा वडाले स्वामित्व लिँदै बहुउद्देश्यीय सामाजिक भवनको परिकल्पना गर्दै आइतवार भवनको शिलान्यास गरिएको हो । वडाध्यक्ष नरेन्द्र थापाले भवनको शिलान्यास गरे ।


गत वैशाख ३ गते टेन्डर प्रक्रियाबाट एम.एस. ज्ञान बिल्डर्स पोखराले सुरुको स्टिमेट पाँच करोड १५ लाख ४७ हजारमा ३१ प्रतिशत कममा टेन्डर पाएपछि तीन करोड ५२ लाख ३६ हजार ४१ रूपैयाँ लागतमा आगामी २०८३ को असार १५ सम्ममा भवन सम्पन्न गर्ने योजना छ ।


करिब ६५५ वर्ग मिटर क्षेत्रफलमा बन्ने भवन साढे तीन तले हुनेछ भने भवनमा जम्मा १९ वटा कोठा रहने बताइएको छ । ज्येष्ठ नागरिक र अपांगमैत्री भवनमा लिफ्टको समेत व्यवस्था गरिएको छ ।


भवन शिलान्यास समारोहमा वडाध्यक्ष थापाले आफूले चुनाव जित्दा सबैले जित्ने धारणा राख्दै आएको र अहिले आएर त्यो प्रमाणित भएको उल्लेख गर्दै वडाको विकासका लागि यहाँ रहेका सबै राजनीतिक दल तथा संघ–संस्थासँग हातेमालो गरेर अगाडि बढ्न अनुरोध गरे ।

Advertisement


चुनाव जित्नका लागि पार्टीको साथ र सहयोग आवश्यक भए पनि विकासका लागि राजनीतिक पूर्वाग्रह नराखी अघि बढ्न सक्नुपर्ने धारणा राख्दै उहाँले वडामा राजनीतिक आस्था र पहुँचका आधारमा कुनै काम नहुने र यहाँ रहेका प्रबुद्ध व्यक्तिहरूले प्रदेशदेखि केन्द्रसम्म बजेट ल्याउने प्रयास गर्नुपर्ने बताए ।


अध्यक्ष थापाले राम्रो काममा सबैले साथ दिनुपर्ने र नराम्रो गर्नेहरूलाई समाजबाटै बहिष्कार गर्न सक्नुपर्ने बताउँदै निर्माण कम्पनीलाई निर्धारित समयमै भवन सम्पन्न गराउन स्थानीयको साथ र सहयोग आवश्यक हुने, र त्यसमा वडाको तर्फबाट सक्दो सहयोग रहने विश्वास दिलाए ।


वडासदस्य लक्ष्मी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेन्द्र पाण्डेले भवनको संरचना र लागत स्टिमेटका बारेमा जानकारी गराए ।

स्थानीय सामाजिक अगुवा रवि बराल, चन्द्रबहादुर राजभट, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, नेपाली काँग्रेसका वडा सभापति शिवबहादुर रानाभाट, नेकपा एमालेका वडा अध्यक्ष मनोहरि ढुंगाना, नेकपा माओवादी केन्द्रका मेघराज भण्डारी, राप्रपाका वडा अध्यक्ष टिकाराम अधिकारी लगायतले भवनको शिलान्यास मात्र ठूलो कुरा नभई यहाँबाट जनताका सेवा प्रवाह नभएसम्म सबै मिलेर भवन निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।


पोखरा महानगरपालिका वडा नम्बर २६ का सूचना अधिकारी नवराज सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य तीर्थबहादुर राजभाटले गरे । धन्यवाद ज्ञापन वडा सदस्य सुजाता बरालले गरे ।

तपाईको प्रतिक्रिया