सम्पादकीय—पानीको निकास र सडकहरु

समाधान संवाददाता २०८२ जेठ ५ गते १०:३२

सहर विकासको नाममा सडक कालोपत्रे गर्नु सामान्य कुरा बनिसकेको छ । भीडभाड भएका गल्ली र सार्वजनिक स्थानहरु कालोपत्रे गरेर विकास देखाउने होड स्थानीय तहहरुको प्राथमिकतामा पर्छ । तर हरेक भौगोलिक संरचना र वातावरणीय सन्दर्भमा एउटै उपाय सबैभन्दा उपयुक्त हुँदैन । बर्खायाम लाग्नु अगावै सानो पानी पर्दा पनि बजार क्षेत्रका सडकमा पानी जम्ने, ढलको निकास अवरुद्ध हुने, ढल सडकमा बग्ने हुन्छ जसले गर्दा हिँड्नै नसक्ने स्थिति आउँछ । खासगरी पोखराजस्तो उच्च वर्षा हुने क्षेत्रमा त यस्तो अवस्था झन् भयावह हुन्छ । यस्तोमा एउटा सहज र प्राकृतिक उपाय दुबो रोप्नु हो । सडक किनारमा दुबो रोप्दा पानी जमिनमुनि जाने ठाउँ पनि पाउँछ र सडकको सौन्दर्य पनि बढ्छ ।

Advertisement


ढल निस्कने निकास नभएपछि ढल थुनिन्छ, जसले दुर्गन्ध, महामारी र दैनिक जीवनमा असहजता निम्त्याउँछ । तर यदि त्यही ठाउँमा घाँस/दुबो रोपिएको भए, त्यो पानी सोस्ने थियो, माटोको सतह सन्तुलित राख्ने थियो, र ढल बन्ने अवस्था नै आउँदैनथ्यो । सहर बजारमा बाढी÷ढल आउनुको मुख्य कारण सडकले पानी नसोसेर हो । वर्षाको पानी जमिनले सोस्न नपाउँदा सानो वर्षाले पनि ठूलो बाढीको रुपले लिन्छ । योजनाबिना भएको सहरी विस्तारले ढल तथा पानीको निकास व्यवस्थापनमा चुनौती खडा गरेको छ । सहरी योजना बनाउँदा जल व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ ।


सडक छेउछाउमा दुबोको प्रयोग गर्नु वातावरणमैत्री प्रयासमात्रै होइन, त्यसले धुलो कम गर्छ, अक्सिजन उत्पादन पक्कै बढाउँछ । र तापक्रम नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ । बजारका सडक, पैदल यात्रीले प्रयोग गर्ने बाटो, खुला सार्वजनिक ठाउँमा दुबो लगाउन सकिन्छ । सरकारले ‘हरित विकास’ र ‘प्राकृतिक समाधान’ लाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बेला आएको छ । कालोपत्रे होइन, दुबो रोप्नु उत्तम उपाय हो । यो आर्थिक रूपमा सस्तो मात्र होइन, दीर्घकालीन रुपमा दिगो र वातावरणमैत्री विकल्प पनि हो ।

तपाईको प्रतिक्रिया