गण्डकी आयुर्वेदमा आइपिडी सुरु

समाधान संवाददाता २०८२ जेठ ५ गते ११:४२

पोखरा ।
पोखरा २६ स्थित गण्डकी आयुर्वेद अस्पतालमा आइतबारबाट अन्तरंग (आइपिडी) सेवा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ओपिडी सेवा, सशुल्क फार्मेसी, जडिबुटी उत्पादन इकाइ र कुटी स्वेदन यन्त्र सुरुआत गरेका छन् ।

Advertisement


मुख्यमन्त्री पाण्डेले सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाए । आगामी आर्थिक वर्षको बजेटमा अन्य मन्त्रालयको बजेट घटे पनि स्वास्थ्यतर्फको बजेट नघट्ने र गत वर्षभन्दा केही बढ्ने उनको भनाइ छ ।


मुख्यमन्त्री पाण्डेले पछिल्लो समय आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको र यसको विकास तथा विस्तारका लागि सरकार लागेको सुनाए । उनले नेपाल जटिबुटीका लागि सम्पन्न रहेकाले यसको उपयोगतर्फ लाग्नका लागि आयुर्वेद चिकित्सालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।


प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णप्रसाद पाठकले सरकारले प्रदेशमा रहेका अस्पतालहरू स्तरोन्नति गर्ने क्रममा गण्डकी आयुर्वेद अस्पतालको समेत स्तरोन्नति गरिएको जनाए । आधुनिकमात्र नभई प्राचीन र प्राकृतिक चिकित्सा क्षेत्रको विकासलाई सँगसँगै लैजानुपर्नेमा सरकार प्रष्ट रहेको उनको भनाइ छ ।


प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको विचार राखे । गुणकारी औषधिजन्य वस्तु पहिचान गरी त्यसको उपयोग गर्नुपर्ने र त्यसका लागि आयुर्वेद चिकित्सा प्रणालीलाई अघि बढाउनुपर्नेमा उनको जोड छ ।

Advertisement


कार्यक्रममा प्रदेशका स्वास्थ्य सचिव विश्वबन्धु बगाले, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, अस्पतालका प्रमुख डा शंकर गौतम, डा दीक्षा पौडेल लगायतले बोलेका थिए । सो अवसरमा मुख्यमन्त्री पाण्डे बिरामीलाई फलफूल वितरणसमेत गरे ।

तपाईको प्रतिक्रिया