बाल विकास सहजकर्तालाई तालिम

पोखरा ।
असल छिमेकी सहयोग संघ (गोनेसा) पोखराले बाल विकास केन्द्रका सहजकर्तालाई पुनर्ताजगी तालिम दिएको छ । भिस्पे इटालीको सहयोगमा भएको तालिममा २६ सहजकर्ताको सहभागिता छ । तालिममा विषयविज्ञ नारायणी कोइरालाले सहजीकरण गरिन् ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले बाल विकास केन्द्रका सहजकर्ता नेपाल सरकारले अन्याय गरेको जागिरे वर्गमा पर्ने बताए । ‘बाल विकास केन्द्रका विद्यार्थीलाई शारीरिक, मानसिक र संवेगात्मक हिसाबले सिकाई आवश्यक छ,’ उनले भने, ‘बच्चाको दिमाग शून्य हुँदैन । तथापि कापी जाँच्ने शिक्षकले नम्बर दिने ठाउँ छैन ।’
उनले पछिल्लो समयमा परिपक्वता सहितको सिकाई विधिलाई मास्ने काम भएको आरोप लगाए । संस्थाले सरकारको पहिलो प्राथमिकता पर्ने सीप दक्षता र व्यवस्थापन गर्ने कलाकौशल कमी भएको आधारभूत तहको परिवारलाई लक्षित कार्यक्रम गरेको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रको मुख्य सहयोगी र परिभाषित जिम्मेवारी पर्ने काम संस्थाले गरेको बताए ।
संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीले संस्थाले बालबालिकालाई विद्यालय जाने बानीको विकास गर्न २२ वर्षदेखि बाल विकास केन्द्रको सुरुवात गरेको जानकारी दिए । उनले बाल विकास केन्द्रलाई सरकारले मान्यता दिएर दरबन्दी दिनुपर्ने बताए । गैसस महासंघ नेपालका केन्द्रीय सदस्य शिशिर खनालले बाँसको सुपलाको फिरफिरे बनाउने र चिलाउनेको काठको डन्डिबियो बनाउने सीप हराएको उल्लेख गरे ।
कार्यक्रममा गैसस महासंघ नेपाल कास्की अध्यक्ष इन्दिरा पौडेल, गोनेसा पोखराका कार्यसमितिका सदस्य केशु भुजेल, संस्थाका कार्यकारी निर्देशक शिवराज शर्मा सुवेदीले तालिमले बाल विकास केन्द्रका बाल बालिकाको सिकाईमा निखारपन ल्याउने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया