पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनले गम्भीर बनाएको चिनिया ठेकेदारको भनाइ

समाधान संवाददाता २०८२ जेठ ६ गते १४:५३

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सिएमसिई) ले सार्वजनिक लेखा समितिको प्रतिवेदन उदृत गरेर प्रकाशन भएका सामग्रीप्रति आश्चर्य र चिन्ता प्रकट गरेको छ ।

Advertisement

सीएमसीईले आज गोरखापत्रमा विज्ञप्ति प्रकाशन गर्दै समितिको प्रतिवेदनमा थुप्रै त्रुटि रहेको भन्दै गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव रहेको उल्लेख गरेको छ ।

सिएमसिईको विज्ञप्तिमा भनिएको छ– ‘लेखा समितिको प्रतिवेदनमा हाम्रो कम्पनी सम्बन्धी विषयवस्तुहरू पूर्ण रूपमा तथ्यसँग मेल खाँदैन । उक्त प्रतिवेदनलाई उदृत गरी प्रकाशित गरिएको परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ, जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र गम्भीर रूपमा चिन्ता लागेको छ ।’

कम्पनीले व्यावसायिक र जिम्मेवार अन्तर्राष्ट्रिय इन्जिनियरिङ ठेकेदारका रूपमा विमानस्थल परियोजनाको बोलपत्र, सम्झौता र कार्यान्वयन चरणमा नेपाल सरकारको सम्पूर्ण कानूनी र नियामक आवश्यकता कडाइपूर्वक पालना गरेको भन्दै सबै दस्तावेज सुरक्षित रहेको समेत जनाएको छ । पोखरा विमानस्थल नेपालको सबैभन्दा आधुनिक विमानस्थल भएको उल्लेख गर्दै २८ महिना लगातार सञ्चालन हुँदा शून्य घटना रहेको समेत जनाएको छ ।

कम्पनीले कर सम्बन्धी मामिलामा नेपाल र चीन सरकारबीच हस्ताक्षर गरिएको कार्यान्वयन गरिएको प्रावधानलाई कडाइका साथ पालना गरिएको भन्दै सरकारदेखि सहकारी परियोजनामा कर छुट गर्नु अन्तर्राष्ट्रिय प्रचलित मानक भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया