‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’

समाधान संवाददाता २०८२ जेठ ६ गते १५:४५

गण्डकी ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् जोखिम न्यूनीकरणमा सहज पहुँच हुने खालको प्रविधिको विकास आवश्यक हुने बताएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा युनएनडिपी र युएनडिआरआरको सहयोगमा सबैका लागि पूर्वसूचना विषयमा राष्ट्रिय कार्ययोजना, २०८२ तर्जुमाका सम्बन्धमा पोखरामा आयोजित प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उनले पूर्वसूचनामा काम गर्नसके जोखिमको न्यूनीकरण गर्न सकिने बताए ।

Advertisement

गण्डकी प्रदेश पर्यटन राजधानी भएको र विपद्को उच्च जोखिममा पनि रहेको उल्लेख गर्दै उनले स्थानीय नागरिकसँगै पर्यटक लक्षित विपद् पूर्वसूचना प्रणाली बनाउँदा जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताए ।

जलवायु परिवर्तनका कारण पनि प्रदेशले थप विपद्को सामना गर्नु परेको उनले बताए । उनले प्रदेशमा जोखिम क्षेत्र पहिचान गरेर पूर्वसूचना र विपद्पछिको भूमिकामा पनि संवेदनशील हुन सरोकारवाला सबैलाई आग्रह गरे ।

Advertisement

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले विपद् पूर्वसूचनाका आधारमा विपद्जन्य क्षति धेरै नै न्यूनीकरण गर्न सकिने बताए । प्रभावकारी पूर्वसूचना प्रणालीको स्थापनासँगै यसबारे आम सर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिनुु जरुरी भएको उनको भनाइ छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेशसभाका प्रमुख सचेतक विन्दु पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सुदीप अर्याललगायतले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

गोष्ठीमा गण्डकी तथा लुम्बिनी प्रदेशका सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया