चुनावअघि सरकारमा जाँदैनौंः वर्षमान पुन

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकतामा नराखेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले विसं २०८४ को चुनावपछि ताजा जनादेशपछि मात्र सरकारमा जाने बताए ।
नेता पुनले माओवादी केही पक्ष माओवादीलाई तर्साउने उद्देश्यले अघि सारिएको प्रचार गरिरहेको भन्दै उनले यस्तो भ्रम फैलाउने काम अनुचित भएको बताए । उनले वर्तमान सरकार असफल र नालायक साबित हुँदै गएको दाबी गरे । जसका कारण जनतामा निराशा र आक्रोश बढ्दै गएको उनको भनाइ छ ।
‘व्यवस्थामाथि प्रहार हुन थालेको अवस्थामा माओवादी व्यवस्था जोगाउन लागिपरेको छ,’ पुन भन्छन्, ‘तेस्रो दलका रूपमा माओवादीले सरकार चलाइसकेको छ, दोस्रो ठूलो दलले पनि सरकार सञ्चालन गरिसकेको छ । अब पहिलो दललाई सरकार चलाउने अवसर दिइएको हो । पहिलो दलले सरकार चलाउँदा के गर्ने भनेर हामीले सोच्नुपर्छ। सकेसम्म सरकार नजाउऊ भन्ने हाम्रो चाहना हो ।’
उनले माओवादी केन्द्र अहिलेको व्यवस्थालाई बचाउन लाग्नेसमेत उल्लेख गरे । नेता पुनले भने, ‘व्यवस्था हाम्रो रगत पसिना खर्च गरेर ल्याएका छौं, त्यसैले अहिलेको व्यवस्थालाई परिस्कृत गरेर अझै बलियो बनाउनुपर्दछ ।’ माओवादीले व्यवस्थाका रक्षाका लागिगरेको कार्यक्रमले वर्तमान सरकारलाई समेत सहयोग पुगेको उनको भनाइ छ ।
नेता पुनले सरकार गठन विघटनमा नलाग्नेसमेत जनाए । ‘लोकतान्त्रिक व्यवस्थमा प्रमुख प्रतिपक्षी वेटिङ गभर्मेन्ट हो तर अहिले सरकार बनाउने र सरकारमा जाने हाम्रो प्राथमिकता र रुचि छैन । हामी अर्को निर्वाचनको तयारीका लागि जनताका बीचमा अभियानसहित गएका छौँ । अहिलेको सरकार सरकार ढलेपछि के गर्ने भन्ने उपाय छ । त्यो भनेको जनमतका हिसाबले समेत पहिलो दलको नेतृत्वमा सरकार बनाउनुपर्दछ,’ उपमहासचिव पुनले भने ।
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारका बारेमा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरे । उनले भने, ‘संसद्को उपसमितिले विमानस्थलका बारेमा एउटा प्रतिवेदन दिएको छ । त्यो समितिको प्रतिवेदनका आधारमा विज्ञसहितको न्यायिक छानबिन समिति गठन गरेर दोषीउपर कारबाही गर्नुपर्दछ ।’
कार्यक्रम प्रेस सेन्टर गण्डकी अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा भएको हो ।
तपाईको प्रतिक्रिया