
जोमसोम ।
विसं. २०३१ सालको खम्पा विद्रोहपछि आत्मसमर्पण गरी मुस्ताङको घरपझोङ १ छैरोमा बसोबास गर्दै आएका तिब्बती शरणार्थी समुदायका आफ्नै दुःख, कष्ठ र वेदनाहरु विद्यमान छन् । पछिल्लो दुई पुस्तालाई तिब्बती शरणार्थी परिचयपत्र तथा जन्मदर्ता लगायतका दर्ता नेपाल सरकारको तर्फबाट अघि बढ्न नसक्दा उनीहरुले प्राप्त गर्ने न्यूनतम सेवा, सुविधाबाट बञ्चित हुनुपर्ने बाध्यता छ ।
तिब्बती खम्पा विद्रोहपछि मुस्ताङको छैरोमा शरणार्थीहरुले ५१ वर्ष बिताइसकेका छन् । सुरुआती १०/१२ घरधुरीले शरण लिएर बसेकोमा त्यसमा थपिंदै ५०/६० घरधुरी पुगेका छन् । त्यहाँ अहिले तिब्बती शरणार्थीको तीन पुस्ताले सामान्य जीवन व्यतित गरिहेका छन् ।
सरकारले मुस्ताङको छैरोमा बस्ने तिब्बती शरणार्थीलाई पहिलो पटक वि.स. २०६४ सालमा शरणार्थी परिचयपत्र वितरण गरेको थियो । त्यस समय १८ वर्ष कटेका तिब्बती शरणार्थीलेसरकारबाट परिचयपत्र पाएका थिए भने १८ वर्ष मुनिका शरणार्थी बालबालिकाले परिचपपत्र पाउन सकेका थिएनन् । त्यसयता भने तिब्बती शरणार्थीले परिचयपत्र पाउन सकेका छन् ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले मुस्ताङको छैरोमा बस्ने तिब्बती शरणार्थीको जन्मदर्ता र शरणार्थी परिचयपत्र उपलब्ध गराउने अधिकार सुनिश्चित नहुँदा निकै ठूलो समस्या पर्ने गरेको सुनाए । मुस्ताङको छैरोमा २ सय ३ जनाका रहेकोमा ३८ जनाको मात्रै शरणार्थी परिचयपत्र नवीकरण भएको सहायक प्रमुख जिल्ला अधिकारी परियारको भनाइ छ ।
विसं. २०५४ मा शरणार्थी परिचयपत्र वितरण हुँदा त्यस बेला १८ वर्ष नपुगेका शरणार्थीहरु अहिले ४५ वर्ष कटेका छन् । तर, सरकारबाट पुनः जन्मदर्ता र शरणार्थी परिचयपत्रको प्रक्रिया अघि नबढाउँदा उनीहरुको कमाई गर्ने तथ अन्य सेवा, सुविधामा असर पुगेको सहायक प्रजिअ परियारले खुलाए ।
खम्पा विद्रोहपछि मुस्ताङको घरपझोङ १ छैरोमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरु परिचयपत्र नहुँदा अनेक समस्याबाट आक्रान्त छन्
‘पछिल्लो पटक जन्मिएका शरणार्थी बालबालिकाको जन्म दर्ता गर्ने कार्यविधि नभएको, जन्म दर्तासम्बन्धी नियमावलीमा सम्बोधन नभएकाले व्यक्तिले पाउनु पर्ने सेवा, सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था छ‘, सहायक प्रजिअ परियारले भने, ‘बैंक तथा वित्तीय संस्थामा खाता खोल्न, वित्तीय ट्रान्जिक्सन गर्ने कार्यमा पछि परेका छन्, राज्यलाई तिर्नुपर्ने राजस्वबाट पनि बिमुख बनेका छन् ।’
तिब्बती शरणार्थी परिचय पाउन नसकेकाहरुका लागि सामान्य अस्थायी अभिलेख राखेर शरणार्थी बालबालिकालाई जन्म दर्ता, मृत्यु दर्ता अथवा ५ प्रकारको व्यक्तिगत घटनाको अभिलेख राख्न सकेमा उनीहरुमा परेको अप्ठ्यारोको गाँठा सामाधान हुन सक्छन् । तर, यस सम्बन्धी नियमावलीमा कहिँकतै उल्लेख नभएकाले यस प्रकारको समस्या उत्पन्न भएको हो । चालु वर्ष छैरो शरणार्थी क्याम्पमा रहेका २ सय ३ जनामध्ये ३८ जनाको मात्रै शरणार्थी परिचयपत्र नवीकरण भएका छन् ।
मुस्ताङको छैरो तिब्बती शरणार्थी क्याम्पका मुखिया टसी ढिन्डुक अहिले ४३ वर्ष पुगे । पहिलो पटक परिचय पत्र वितरण हुँदा उनी १५ वर्षका थिए । मुखिया टसी ढिन्डुकको साविक गाविस हुँदा जन्म दर्ता भए पनि उनले अहिलेसम्म शरणार्थी परिचयपत्र पाउँन नसकेको दुःखेसो सुनाए । उनले अहिले आफ्ना बच्चाले समेत जन्म दर्ता गर्न नपाएको उल्लेख गरे ।
शरणार्थी परिचयपत्र नहुँदा परिश्रम गरेको पैसा बैंक तथा वित्तीय संस्था भए पनि बचत गर्ने ठाउँ नभएको उनको भनाइ छ । ‘हामी त शरणार्थी नै हौ, ढाट्ने केनै छ र’, मुखिया ढिन्डुकले थपे, ‘हाम्रो पहिचान परिचयपत्रले गरिदिने हो, परिचय पत्र नै नभएपछि हामी को हौ भन्ने नै पहिचान छैन । ‘सरकारले खै हामी शरणार्थीलाई के कति कारणले हो परिचय पत्र दिन सकेको छैन । हाम्रो अनुरोध सरकारलाई छ कि कृपया हामीलाई परिचयपत्र दिनुहोस् ।’
मुस्ताङको छैरो तिब्बती शरणार्थी क्याम्पमा दुई वर्षमा मुखिया चुन्ने गरिन्छ । शरणार्थी परिवारको सुख, दुःख र सहजीकरण गर्नका लागि क्याम्पभित्र मुखिया चुन्ने प्रचलन रहेको मुखिया टसी ढिन्डुकले जनाए । क्याम्पभित्र जन्मिएका मुखिया ढिन्डुक क्याम्पभित्रै सामान्य खेतीपाती गरी जीविकोपार्जन गर्ने गर्छन । बाल्यकालदेखि त्यही जन्मिएको हुर्किएकाले क्याम्प वरपरका गैर शरणार्थीसंग पनि समुधुर सम्बन्ध रहने गरेको उनको भनाइ छ ।
छैरो क्याम्पका तिब्बती शरणार्थीहरुले कृषि र समथिङको व्यापार गर्ने गरेका छन् । क्याम्पभित्र स्याउ, उवा, फापर र आलु लगायतका अन्नबाली उत्पादन गरेको मुखिया टसी ढिन्डुकको भनाइ छ । क्याम्पमा बस्ने केही शरणार्थीले मार्फा, जोमसोम, कागबेनी लगायतका स्थानमा पर्यटकका लागि समथिङको व्यापार गर्ने गरेका छन् ।
क्याम्प बस्दा ९० प्रतिशत शरणार्थी अशिक्षित रहेकोमा अहिले ८० प्रतिशतभन्दा बढी शरणार्थी शिक्षित बनेका छन् । क्याम्पमा युवा जति सबै अध्ययन र जागिरका लागि पोखरा, काठमाडौं लगायतका सहरमा छन् । छैरो तिब्बती क्याम्पमा एक गुम्बा, एक आधारभूत विद्यालय, हेल्थ पोस्ट र एक सामुदायिक रेष्टुरेन्ट सञ्चालनमा छन् ।
मुस्ताङमै जन्मे, हुर्किएका टसी ढिन्डुक शरणार्थी जीवन व्यतित गर्नुपर्ने आफूहरुको बाध्यता रहेको बताउँछन् । ‘शरणार्थी भएर बस्ने रहर कस्को पो हुन्छर हजुर, यो त हामीलाई परेको समस्या हो’, ढिन्डुकले भने, ‘आफ्नै ठाउँमा फर्किन पाए हुन्थ्यो, हामी त यहाँ पहिचानविहीन भएर बस्नु परेको छ ।’

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया