गन्तव्यस्थल बन्दै गुर्जा

म्याग्दी ।
म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जा अझैसम्म पनि सडक सञ्जालमा जोडिएको छैन । जिल्लाको धवलागिरि गाउँपालिका वडा नं १ मा पर्ने गुर्जामा सडक सञ्जालको पहुँच नपुगेको भए पनि आन्तरिक पर्यटकको आकर्षणको पहुँच भने पुगेको छ ।
‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखान म्याग्दीमा निकै प्रचलित छ । जिल्लाको अन्तिम गाउँ गुर्जा छन्त्याल जातिको ठूलो बस्ती भएको गाउँ हो । यो गाउँलाई छन्त्याल समुदायको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल भनेर पनि चिनिन्छ ।
पछिल्लो समय गुर्जा गाउँ आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य स्थल बन्दै गएको छ । लुलाङ–गुर्जा सडक योजना अन्तर्गत गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिनेछ । त्यसपछि धेरैका लागि रहस्य बनेको गुर्जा गाउँमा सदरमुकाम बेनी बजारबाट एकैदिनमा जाउआउ गर्न सकिनेछ ।
वडाध्यक्ष छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । अब गाउँ पुग्न पाँच किलोमिटर मात्र बाँकी छ । ‘गुर्जा सडक सञ्जालसँग जोडिएपछि धेरैको गुर्जा पुग्ने सपना पूरा हुनेछ’, वडाध्यक्ष छन्त्यालले भने । लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र गाउँपालिकाले रु दुई÷दुई करोड बजेट विनियोजन गरेर रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको हो । अहिले पनि धमाधम काम भइरहेको छ ।
समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जा गाउँमा २०८२ साल सुरु भएपछि व्यक्तिगत र संस्थागत रूपमा भ्रमण गर्नेको संख्या बढेको छ । सदरमुकाम बेनी बजारका केही संस्था गुर्जा पुगेर विभिन्न किसिमका कार्यक्रम पनि गरेका छन्त्यालले बताए । केही दिन अघिमात्र म्याग्दी जेसिजको एक टोली गुर्जा पुगेर फर्केको छ ।
गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको लर्काे लाग्न थालेको छ
‘गुर्जा गाउँ पर्यापर्यटन र सांस्कृतिक तथा जैविक विविधताका लागि अध्ययन अवलोकन गर्न खुला विश्वविद्यालय जस्तो रहेछ’, जेसी सुमन बानियाँले भने । यो गाउँमा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका प्रशस्तै खजाना रहेका हालै गुर्जाको भ्रमण गरेर फर्किएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले उल्लेख गरे ।
‘गुजमुज्ज परेका परम्परागत शैलीका सफा र चिटिक्कका घर, रहरलाग्दो पशुपालन, विषादी र रासायनिक चिजहरुको प्रयोग नगरीकन फलाइने ‘अग्र्यानिक’ उत्पादन, चारैतिर हरिया वनजङ्गल, भीडभाड र कोलाहल मुक्त परिवेश, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्याल समुदाय, गुर्जा साच्चिकै आकर्षक स्थल हो, यो जीवनमा एकपटक पुग्ने पर्ने ठाउँ हो’, अध्यक्ष श्रेष्ठले भने ।
प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता नै गुर्जाको विशेषता हो । यहाँ वैशाखदेखि जेठको पहिलो सातासम्म व्यक्तिगत, संस्थागत र राजनीतिक भेटघाट वा कार्यक्रमका लागि गरी १०० बढी आन्तरिक पर्यटक पुगिसकेका स्थानीय कमल छन्त्यालले बताए ।
गुर्जा गाउँलाई ‘एडभेन्चर ट्रेल हब’का रूपमा विकसित गर्नुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठको भनाइ छ । यहाँबाट ढोरपाटन, पुथा र चुरेन हिमालको आधार शिविर हुँदै एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्गसमेत पहिचान गरी प्रयोगमा ल्याउने पहल भइरहेको छ । रासस
तपाईको प्रतिक्रिया