विद्यालयमा बुलिङः समस्या, प्रभाव, र समाधान

Bullying शब्द अंग्रेजीको Bully बाट आएको हो । नेपालीमा यस्तै अर्थ दिने उस्तै शब्द नभए पनि बुलिङ भन्नाले कसैलाई बारम्बार डर, त्रास वा पीडा दिनु, सताउनु, धम्क्याउनु वा हानि पुर्याउने उद्देश्यले गरिने शारीरिक, मानसिक वा भावनात्मक दुव्र्यवहारलाई जनाउँछ । बुलिङ प्रायः शक्ति असन्तुलनको आधारमा गरिन्छ, जहाँ पीडक सामाजिक, शारीरिक वा मानसिक रूपमा बलियो हुन्छ भने पीडित कमजोर, डरपोक वा असहाय हुन्छ । यसको प्रत्यक्ष असर पीडितको आत्मसम्मान, आत्मविश्वास, मानसिक स्वास्थ्य र सामाजिक सम्बन्धमा नकारात्मक रूपमा पर्ने गर्छ । बुलिङ विद्यालय, कार्यस्थल, घर, अनलाइन वा कुनै पनि सामाजिक वातावरणमा हुन सक्छ ।
बुलिङका विभिन्न रुपमध्ये शक्ति असन्तुलनका कारण कसैलाई पिट्ने, धकेल्ने वा अन्य शारीरिक हानि पुर्याउने व्यवहार शारीरिक बुलिङभित्र पर्दछ । मान मर्दन हुने गरी नाम बिगार्ने, उपहास गर्ने, अपमानजनक टिप्पणीहरू गर्ने वा गालीगलौज गर्ने कार्य मौखिक बुलिङ हो । कसैलाई समाजबाट अलग पार्ने, बहिष्कार गर्ने, अफवाह फैलाउने वा अरूलाई उसको विरुद्ध उक्साउने व्यवहार सामाजिक बुलिङ मानिन्छ । इन्टरनेट वा सामाजिक सञ्जालमार्फत अपमानजनक वा हीनता जनाउने सन्देश, तस्बिर वा सामग्री पठाउने व्यवहार साइबर बुलिङ हो । बुलिङको दीर्घकालीन असर विद्यार्थीको मानसिक स्वास्थ्य, आत्मविश्वास र भविष्यमा गम्भीर रूपमा पर्न सक्छ । त्यसैले यसको समाधानमा विद्यालय, अभिभावक र समाज सबैको भूमिका महत्वपूर्ण हुन्छ ।
बुलिङः सामाजिक अपराध
पद, वरिष्ठता, धन वा समूहका कारण बलियो अवस्थामा रहेको व्यक्तिले आफूभन्दा कमजोरलाई शारीरिक, मानसिक, सामाजिक वा आर्थिक रूपमा दुःख दिने प्रवृत्ति हरेक समुदायमा व्याप्त छ । यस्तो व्यवहारले समाजमा सहिष्णुता, सम्मान तथा समानताको आधारभूत मूल्यहरू कमजोर पार्छ । हरेक व्यक्तिलाई सम्मान र सुरक्षा पाउने अधिकार हुन्छ, तर बुलिङले यो अधिकार हनन गर्छ । त्यसैले यसलाई मानवअधिकारको गम्भीर उल्लंघन मान्न सकिन्छ । बुलिङले पीडितको आत्मसम्मान, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध तथा सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले यो गम्भीर सामाजिक अपराध हो ।
धेरै देशले साइबर बुलिङ, जातीय वा लैंगिक भेदभावपूर्ण बुलिङलाई कानुनी रूपमा दण्डनीय अपराध ठहर गरेका छन् । नेपालमा पनि विद्यालय तहमा लागू बालअधिकारसम्बन्धी ऐन, २०७५ अनुसार शारीरिक वा मानसिक हिंसा निषेध गरिएको छ । यदि कसैले बुलिङमार्फत गम्भीर शारीरिक वा मानसिक क्षति पुर्याउँछ भने, कानुनी प्रक्रियामा ल्याउन सकिन्छ ।
समाजमा बुलिङलाई गम्भीर रूपमा लिनु र यसको विरुद्ध सक्रिय पहल गर्नु अत्यावश्यक छ । यसले पीडितको व्यक्तित्व विकास, शैक्षिक यात्रा, र दीर्घकालीन मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । बुलिङ केवल व्यक्तिगत व्यवहार मात्र नभई सामाजिक न्याय तथा सहअस्तित्वका लागि खतरनाक प्रवृत्ति हो । त्यसैले, यसलाई सामाजिक अपराधकै रूपमा हेर्नु आवश्यक छ ।
विद्यार्थीमाथि हुन सक्ने बुलिङका स्वरुप
विद्यार्थीहरू प्रत्यक्ष वा परोक्ष रूपमा विभिन्न स्थान र व्यक्तिबाट बुलिङको शिकार हुन्छन् । यसको स्वरूप तथा स्रोत विविध देखिन्छ ।
बुलिङले आत्मसम्मान, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध तथा सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले यो गम्भीर सामाजिक अपराध हो
स्थानका आधारमाः कक्षाकोठामा शिक्षकको अनुपस्थितिमा सहपाठीहरूद्वारा नाम बिगार्ने, गिज्याउने, धम्क्याउने जस्ता व्यवहार देखिन्छन् । खेल मैदानमा खेलबाट निकाल्ने, धकेल्ने, अपमान गर्ने जस्ता शारीरिक दुव्र्यवहार हुन्छन् । डाइनिङ हल, शौचालय वा सुनसान स्थानमा डर देखाउने, धम्की दिने वा आक्रमण गर्ने घटना जस्ता गतिविधिहरू सामान्य हुन्छन् ।
ट्युसन सेन्टरमा नयाँ वा कमजोर विद्यार्थीलाई अलग्याउने, हेप्ने, समूह बनाएर बहिष्करण गर्ने प्रवृत्ति पाइन्छ । विद्यालयका बस–भ्यानहरूमा बस्न नदिने, कुराकानीमा सामेल हुन नदिने व्यवहारहरू पनि हुन्छन् । छरछिमेक वा समाजमा जातीय वा धार्मिक भेदभाव, गालीगलौज, उपहासले विद्यार्थीलाई असर पुर्याउँछ । सामाजिक सञ्जालमा झुटा अफवाह फैलाउने, अपमानजनक टिप्पणी गर्ने, फोटो/भिडियोको दुरुपयोग गर्ने, ग्रुप च्याटमा एक्ल्याउने जस्ता साइबर बुलिङ र घरमा हुने विभेदबाट विद्यार्थीहरू मानसिक रूपले प्रताडित भइरहेका हुन्छन् ।
व्यक्तिका आधारमाः बुलिङ प्रायः समवयस्क वा नजिकका साथीहरूबाट हुने गर्छ । आफूलाई बलियो ठान्नेले कमजोरलाई हेप्ने, धम्क्याउने, एक्ल्याउने व्यवहार गर्छन् । विद्यालय वा होस्टेलमा सिनियरले जुनियरलाई डर देखाउने, अनावश्यक काम लगाउने, मानसिक वा शारीरिक दण्ड दिने गर्छन् । कहिलेकाहीं शिक्षक वा विद्यालयका कर्मचारीहरूले पनि गाली गर्ने, उपेक्षा गर्ने वा होच्याउने व्यवहार देखाउने गर्छन्, जुन बुलिङकै एक रुप हो । त्यसैगरी, छिमेकी वा सामुदायिक गतिविधिमा सहभागी हुँदा बाहिरी व्यक्तिबाट पनि गाली, अपमान र हेपाइ सहनु पर्ने अवस्था आउन सक्छ ।
बुलिङसम्बन्धी केही तथ्य
तथ्यांकले देखाए अनुसार प्रत्येक वर्ष ३० लाख २० हजारभन्दा बढी विद्यार्थी बुलिङको सिकार हुन्छन् । दैनिक झन्डै १ लाख ६० हजार किशोर–किशोरी बुलिङका कारण विद्यालय छाड्न बाध्य हुन्छन् । १७ प्रतिशत अमेरिकी विद्यार्थीले एक विद्यालय सेमेस्टरमा महिनामा दुईदेखि तीन वा सोभन्दा बढी पटक बुलिङ भएको उजुरी गर्छन् । शिक्षकले चारमध्ये एक बुलिङलाई समस्या मान्दैनन्, र शिक्षकले केवल ४ प्रतिशत समयमात्र हस्तक्षेप गर्छन् । १४ वर्षको उमेरसम्म ३० प्रतिशतभन्दा कम केटा र ४० प्रतिशतभन्दा कम केटीले आफ्ना साथीहरूसँग बुलिङको विषयमा कुरा गर्छन् ।
६७ प्रतिशतभन्दा बढी विद्यार्थीले विद्यालयको प्रतिक्रिया कमजोर भएको ठान्छन् । विद्यार्थीको उच्च प्रतिशतले वयस्कहरूको सहयोग अपर्याप्त र अप्रभावकारी भएको मान्छन् । ७१ प्रतिशत विद्यार्थीले बुलिङलाई विद्यालयको गम्भीर समस्या मान्छन् । कक्षा ४ देखि ८ सम्मका ९० प्रतिशत विद्यार्थीले बुलिङको अनुभव गरेका छन् । बलिङका कारण १० मध्ये १ जना विद्यार्थीले विद्यालय नै छाड्छ । केटाहरू पीडितप्रति कम सहानुभूति राख्छन् । (स्रोतः खगराज बराल, बालबालिकामाथि बढ्दो बुलिङ, नागरिक राष्ट्रय दैनिक )
एनसिइएसको प्रतिवेदन अनुसार कक्षाका ६–७ विद्यार्थीले सिनियर स्कुलको तुलनामा बढी बुलिङ अनुभव गर्छन् । भावनात्मक बुलिङ सबैभन्दा प्रचलित स्वरूप हो, जसपछि शारीरिक रूपमा गरिने बुलिङ दोस्रो स्थानमा आउँछ । साइबर बुलिङ भने मध्यम कक्षाका विद्यार्थीमा कम देखिन्छ, तर विद्यालयका अन्तिम ३ वर्षमा यसको स्तर उल्लेखनीय रूपमा वृद्धि हुन्छ ।
बुलिङका घटना अधिकतर विद्यालय परिसरभित्रै हुने गर्छन् । विशेष गरी ६ कक्षाका विद्यार्थीलाई विद्यालय बसमा बढी बुलिङ गरिने तथ्य रिपोर्टले देखाएको छ । बुलिङको प्रभाव शारीरिक चोटका रूपमा प्रकट हुन सक्छ, जुन ६ कक्षाका विद्यार्थीहरूमा उच्च, ८–९ कक्षाका विद्यार्थीहरूमा कम तथा हाइस्कूलका विद्यार्थीहरूमा झन् न्यून हुने गर्छ ।
सन् २०२० मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले १३ देखि १७ वर्ष उमेर समूहका ५,८८८ तथा १८ वर्षमाथिका ९,००२ किशोरकिशोरीमाथि गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणमा ३.९ प्रतिशत किशोरकिशोरीमा आत्महत्याको विचार आउने गरेको तथ्य देखाएको थियो । यसको मुख्य कारण प्रत्यक्ष–परोक्ष बुलिङ नै हो ।
पढाइमा बुलिङको प्रभाव
बुलिङले विद्यार्थीको पढाईमा गम्भीर नकारात्मक असर पार्न सक्छ । यसले उनीहरूलाई कमजोर, तनावग्रस्त तथा असुरक्षित महसुस गराँउछ । बुलिङको शिकार भएका विद्यार्थीको आत्मसम्मानमा ठूलो धक्का लाग्छ । उनीहरूले आफ्नै क्षमतामा विश्वास रहदैन, आत्मविश्वास कमजोर भएर पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुन्छ । मानसिक तनाव र चिन्ताका कारण उनीहरूले कक्षामा ध्यान दिन सक्दैनन्, जसको प्रत्यक्ष असर उनीहरुको ग्रेड, परीक्षा परिणाम तथा शैक्षिक उपलब्धिमा देखिन्छ । बुलिङका कारण कतिपय विद्यार्थी विद्यालय जान डराउँछन् वा कक्षा छोड्ने प्रयास गर्छन् ।
यस्तो अवस्थाले पढाइमा निरन्तरता टुट्छ, विद्यालयमा अनुपस्थित दर बढ्छ, र अन्ततः शैक्षिक स्तरमा गिरावट आउँछ । बुलिङको शिकार भएका विद्यार्थीहरू एक्लोपन महसुस गर्छन् र अरूसँग सामाजिक घुलमिल गर्न गाह्रो मान्छन् । जसले उनीहरूको सामाजिक तथा शैक्षिक वातावरणमा नकारात्मक असर पार्छ । बुलिङको असर दीर्घकालीन हुन सक्छ—चिन्ता, डिप्रेसन, तथा आत्महत्यासम्मका सोच विकसित हुन सक्छ, जसले पढाइलाई पूर्ण रूपमा अवरुद्ध गर्न सक्छ ।
विद्यालयमा बुलिङ नियन्त्रण गर्ने उपायहरु
विद्यालयमा बुलिङ नियन्त्रण गर्न विभिन्न पक्षहरूको समन्वित प्रयास आवश्यक हुन्छ । शिक्षण संस्था, शिक्षक, अभिभावक तथा समाजका सदस्यहरूले वुलिङ रोकथामका लागि निम्न उपायहरू अवलम्बन गर्न सक्छन्ः
१. विद्यालयले बुलिङ रोक्नका लागि स्पष्ट नीति तथा निर्देशिका निर्माण गर्नुपर्छ । यस्तो नीति विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई बुझाउन आवश्यक हुन्छ । बुलिङविरुद्धका नियमको उल्लंघन भएमा लागू हुने कारबाहीका प्रक्रिया पारदर्शी हुनुपर्छ ।
२. विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बुलिङका प्रभाव र कानुनी परिणामबारे जानकारी गराउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । मानसिक स्वास्थ्य विज्ञहरूसँग मिलेर वर्कशप तथा तालिम कार्यक्रम आयोजना गर्न सकिन्छ ।
३. विद्यालयमा समावेशी, सहिष्णु तथा सम्मानजनक वातावरण विकास गर्नुपर्छ । विद्यार्थीबीच सहयोग, मित्रता तथा सहिष्णुता प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ ।
४. सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा हुने बुलिङ नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्छ । सुरक्षित इन्टरनेट प्रयोगबारे विद्यार्थीलाई जानकारी गराउने तथा साइबर बुलिङसम्बन्धी घटनाहरू रिपोर्ट गर्ने प्रक्रिया सरल तथा गोप्य बनाउनुपर्छ ।
५. विद्यालयमा बुलिङका घटनाहरू सहज रूपमा रिपोर्ट गर्न विश्वासिलो तथा गोपनीय व्यवस्था आवश्यक हुन्छ । शिक्षक तथा विद्यालय प्रशासनले विद्यार्थीहरूको व्यवहारमा सतर्क निगरानी राख्नुपर्छ ।
६. बुलिङको शिकार भएका विद्यार्थीलाई आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउनुपर्छ । उनीहरूलाई आत्मविश्वास बढाउने तथा समस्या समाधान गर्ने सीप विकास गराउनुपर्छ ।
७. अभिभावकले आफ्ना बालबालिकाको व्यवहारमा ध्यान दिनुपर्छ तथा बुलिङका लक्षणहरू पहिचान गर्न सक्षम हुनुपर्छ । बच्चा बुलिङको सिकार भएको खण्डमा विद्यालयसँग समन्वय गरी समाधान खोज्नुपर्छ ।
८. समाजका सदस्यहरूले बुलिङ रोकथामका लागि जागरूकता कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्थानीय संस्था तथा सरकारी निकायले बुलिङ न्यूनीकरण गर्न विशेष अभियान तथा नीति ल्याउनुपर्छ ।
बालबालिकामाथि हुने हेपाइ अर्थात् बुलिङका परिणामबारे विद्यालयमा खासै चर्चा चल्दैन । यसबारे धेरै अध्ययन, अनुसन्धान पनि भएको छैन । तथापि यी उपायले विद्यालयमा बुलिङ न्यूनीकरण गर्न मद्दत पुर्याउनेछन् । शैक्षिक संस्थाहरूले विद्यार्थीहरूसँग निरन्तर संवाद गरी स्वस्थ विद्यालय वातावरण निर्माण गर्नु आवश्यकता छ ।
निष्कर्ष
विद्यालयमा देखापर्ने बुलिङ शैक्षिक वातावरणका लागि गम्भीर चुनौती बनेको छ । यसको प्रभाव विद्यार्थीको मानसिक स्वास्थ्य, शैक्षिक उपलब्धि, सामाजिक सम्बन्ध तथा दीर्घकालीन भविष्यमा गहिरो रूपमा पर्दछ । बुलिङको असर केवल पीडितमा मात्र सीमित हुँदैन, पीडक स्वयं पनि हिंसात्मक सोच, नकारात्मक व्यवहार तथा सामाजिक विकृतिको जोखिममा पर्न सक्छ ।
यस समस्याको समाधान कुनै एक पक्षको प्रयासबाट सम्भव छैन । विद्यालय, अभिभावक, समुदाय तथा नीति निर्माताबीच आपसी समन्वय, सचेतना अभिवृद्धि, स्वअनुशासन तथा प्रभावकारी परामर्श प्रणाली आवश्यक छ । बुलिङ न्यूनीकरणका लागि शिक्षामात्र पर्याप्त छैन, बरु सह–अस्तित्व, सम्मान तथा सहिष्णुताको संस्कार विकास गर्नु आवश्यक छ । यदि शैक्षिक संस्थाले विद्यार्थीको व्यवहार सुधार गर्न रणनीतिक रूपमा कार्यान्वयन गरे, प्रभावकारी नीति निर्माण गरे तथा समाजमा सकारात्मक सोचको विकास गर्न सकियो भने बुलिङको दीर्घकालीन समाधान सम्भव हुन्छ ।
(बराल गण्डकी बोर्डिङ स्कुल र गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स, लामाचौर, पोखराका पूर्वप्राचार्य हुन् )








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया