त्रिभुवन विमानस्थलमा अनियमितता: सहसचिव तीर्थराज भट्टराईसहित ९ जना अख्तियारको नियन्त्रणमा

पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ९ जनालाई नियन्त्रणमा लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा व्यापक अनियमितताको सूचनाका आधारमा अख्तियारको टोलीले बुधबार छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
सहसचिव भट्टराईलाई मंगलबार मात्रै त्रिभुवन विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट गृह मन्त्रालयमा तानिएको थियो। तर, सोही दिन अख्तियारको टोलीले उनलाई मन्त्रालय परिसरबाटै नियन्त्रणमा लिएको हो। भट्टराई विमानस्थलमा कार्यरत रहँदा भिजिट भिसामा दुबईलगायतका देश जान चाहने यात्रुहरूसँग अवैध रूपमा करोडौँ रुपैयाँ असुल गरेको आरोप लागेको छ।
अख्तियारका अनुसार भट्टराईको कार्यकालमा अध्यागमन कार्यालय मार्फत हुने अनधिकृत रकम संकलनबारे ठोस सूचना प्राप्त भएपछि कारबाही अघि बढाइएको हो। छापाको क्रममा अख्तियारको टोलीले कागजात तथा कम्प्युटर उपकरण समेत जफत गरेको छ।
भट्टराईसँगै विमानस्थल अध्यागमनका अन्य ८ जना कर्मचारीलाई समेत हिरासतमा लिइएको छ। पक्राउ परेका मध्ये केहीलाई विमानस्थलमै, केहीलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरिएको अख्तियार स्रोतले जनाएको छ।
९ महिनाअघि अध्यागमन प्रमुखमा नियुक्त भएका भट्टराई यसअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक थिए। विमानस्थलजस्तो संवेदनशील तथा ‘मालदार’ अड्डामा नियुक्त भएपछि उनले अवैध रकम संकलनका गतिविधि तीव्र बनाएको गुनासोहरू बढ्दै गएका थिए।
विमानस्थल अध्यागमन कार्यालयमा अनधिकृत रकम संकलनको पुरानो प्रवृत्ति रहँदै आएको छ। यसअघि पनि नायब सुब्बा र कम्प्युटर अपरेटरबीच पैसाको बाँडफाँटमा विवाद हुँदा सरुवा गरिएको घटना सार्वजनिक भइसकेको छ।
भट्टराईलाई हटाएर हाल पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालालाई अध्यागमन प्रमुखको रूपमा नियुक्त गरिएको छ।
अख्तियारले पक्राउ परेकाहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक रूपमा उनीहरूमाथि भ्रष्टाचार, सार्वजनिक पदको दुरुपयोग र अवैध लाभ आर्जनजस्ता अभियोगहरू लाग्ने अनुमान गरिएको छ।
तपाईको प्रतिक्रिया