महाधिवेशन प्रचार गर्दै मार्चपास

पोखरा ।
राष्ट्रिय युवा संघ नेपालको पोखरामा हुने १० औं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि बिहीबार युवाको मार्चपास भएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्कीको व्यवस्थापनमा चिप्लेढुंगाको मानव अधिकारचोकबाट सुरुभएको मार्चपास न्युरोड हुँदै पोखरा सभागृहमा पुगेर समापन भएको छ ।
युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने महाधिवेशनको नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्ने कार्यक्रम छ । एमालेका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका इञ्चार्ज राजीव पहारीले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिए ।
पोखराको अम्मरसिंह चौरमा महाधिवेशनको उद्घाटन समारोह र पोखरा सभागृह हलमा बन्द सत्रको कार्यक्रम तय भएको छ । युवा संघ नेपालका इन्चार्ज पहारीले युवा संघ गतिशील र जुझारु संगठन भएकोले स्थापना कालदेखिनै राष्ट्रियता लोकतन्त्र जनजीविका र युवाका सरोकारका मुद्दालाई स्थापित महत्वपूर्ण भूमिका खेलेको बताए । विगतमा युवा संघले वाइसिएलको ज्यादतीलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले महाधिवेशनपछि सबै खालको अतिवादको अन्त्य गर्ने दाबी गरे ।
‘आर्यघाटमा गएको राजसंस्थाको पुनस्थापनाको सम्भावना छैन,’ उनले भने, ‘सल्बलाउन खोजेको प्रतिगामी तत्वलाई कहिल्यै उठ्न नसक्ने गरी नामेट पार्न युवा संघ लागेको छ ।’ उनले युवाको व्यापक सहभागिता गराएर महाधिवेशन गर्ने जानकारी दिए । महाधिवेशनमा समाजका विविध खालका युवालाई समेट्ने उल्लेख गर्दै उनले कास्की, पोखरा महानगर र सबै पालिकाका युवालाई स्वंय सेवकको भूमिका खेल्न निर्देशन दिए ।
महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, जनसंगठन सयन्त्रका प्रमुख भानुभक्त ढकाल, युवा संघका नेपालका पूर्व अध्यक्ष महेश बस्नेत लगायत सहभागी बन्ने उनले जानकारी गराए । कोणसभामा नेकपा (एमाले) कास्की सचिव दर्शन लामा र नवीन गुरुङले गीत गाए । युवा नेता विकास अधिकारी, युवा संघ नेपाल कास्कीका अध्यक्ष उमेश गुरुङ, सचिव हिमाल गुुरुङले बोलेका थिए ।
अध्यक्षमा ५ जनाको दाबी
नेकपा (एमाले)को १६ जनसंगठनको महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । यस्तो अवस्थामा युवा संघको महाधिवेशनबाट आउने नेतृत्व सर्वसम्मत होला कि चुनावी प्रतिस्पर्धाले तय गर्ला भनेर धेरेले चासोका साथ हेरेका छन् ।
एमालेले आफ्ना जनवर्गीय संगठनको पदाधिकारीको भद्दा आकार घटाएर छरितो पदाधिकारीसहितको केन्द्रीय टिम बनाउने निर्णय गरेयता एक दर्जन बढी जनसंगठनको अधिवशेन भएर नयाँ नेतृत्व चयन भइसकेका छन् । एमाले जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार पदाधिकारीको संख्या घटाउने निर्णय भएयता अहिलेसम्म दर्जन बढी जनसंगठनले महाधिवेशनमार्फत नेतृत्व छानी सकिएको अवस्था छ ।
ती सबै संगठनमा सर्वसम्मत नेतृत्व चयन भएको छ । पोखरामा हुने युवा संघ नेपालको महाधिवेशनमा पनि यो क्रमले निरन्तरता पाउने दाबी एमालेका नेताहरुले गरिरहेका छन् । तथापि युवा संघको नेतृत्वका लागि भने ५ जनाभन्दा बढी प्रत्यासी देखिएका छन् ।
युवा संघका अध्यक्ष क्षितिज थेवे यसपटक पनि दोहोरिने चर्चा छ । त्यसो त वर्तमान उपाध्यक्षहरु कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम पनि अध्यक्ष बन्ने दौडमै छन् । अध्यक्षको दौडमा वर्तमान महासचिव सुमन पुरीलाई पनि युवासंघका कार्यकर्ताले बलिया दावेदारको रुपमा हेरेका छन् । युवा संघको अर्को आकर्षक पद महासचिवमा हालका सचिव निरोज पौडेल, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारीलगायतको ठूलो पंक्ति आकांक्षी छ ।
अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३ सय ३९ सदस्यीय छ । अहिले भएका केन्द्रीय पदाधिकारी र सदस्यबाट महाधिवेशनले १ सय ८८ जनालाई बिदा गर्नुपर्ने अवस्था छ । किनभने, अब बन्ने केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ । राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरीले महाधिवेशनमा देश भरीका २ हजार प्रतिनिधिले भाग लिने जनाए । उनले ‘सुशासन, समृद्धि, राष्ट्रियता, सिर्जशीलता र गतिशिलता’ भन्ने नाराका साथ हुने महाधिवेशन कार्यनीति र कार्यभार निर्माण गर्ने थलोको रुपमा स्थापित गर्ने दाबी गरे ।









माझठानाका ९ प्रतिभा सम्मानित
इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया