पोखरा १७ मा ‘कोटिहोम चोक’ स्थापना

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ । कोटिहोम नियमित सञ्चालन भइरहेकै बेला बुधबार स्थानीयहरूको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम ‘कोटिहोम चोक’ राखिएको छ । माछापुच्छ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित उक्त स्थानलाई अहिले ‘कोटिहोम चोक’ भनेर नामकरण गरिएको स्थानीय शारदा पंगेनीले बताइन् ।
‘अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीले अवलोकन गर्ने अवसर त पायौँ, तर हाम्रा भावी पुस्ताहरूले पनि यस कोटिहोम महायज्ञको बारेमा जानकारी ताजा राखून् भन्ने हेतुले ‘कोटिहोम चोक’ भनेर नाम राखिएको हो,’ उनले थपिन्, ‘हामी धन्य रहेछौँ, हाम्रो आँगनमै आएर अहिलेसम्म नदेखेको कोटिहोमको दर्शन गर्ने अवसर पायौँ ।’
त्यस्तै अर्का स्थानीय धनीप्रसाद ढकालले भने, ‘हामीले ‘कोटिहोम चोक’ बनाएर अहिले सानो बोर्ड मात्र स्थापना गरेका छौँ । यो कोटिहोम महायज्ञको इतिहास जीवन्त राख्नका लागि अर्को वर्ष स्थानीयको सक्रियतामा ठूलो प्रवेशद्वार निर्माण गर्नेछौँ ।’
अर्का स्थानीय विनोद केसीले भने, ‘नयाँ मान्छे आउँदा लोकेसन लिन र दिन निकै समस्या भइरहेको बेला ‘कोटिहोम महायज्ञ’ र ‘कोटिहोम चोक’ नामकरण गर्दा हाम्रो पहिचान नै उच्च रहनेछ ।’ वैशाख ९ गते एकादशीको दिन उक्त चोकको अनावरण गर्ने कार्यक्रम रहेको स्थानीयको भनाइ छ ।
तपाईको प्रतिक्रिया