जेसिज सप्ताहको तयारी

समाधान संवाददाता २०८२ जेठ ९ गते १३:१३

पोखरा ।
समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पोखरा लेडी जेसिजले ‘जेसिज सप्ताह २०२५’ विविध कार्यक्रमका साथ मनाउने भएको छ । ‘प्रभावकारी नेतृत्व, आजको आवश्यकता’ भन्ने नारासहित जेठ १० गतेदेखि सुरु हुने सप्ताह जेठ १६ गतेसम्म सञ्चालन हुने जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।


जेसीज सप्ताह कार्यक्रमको सुरुवात जेठ १० गते शनिबार बिहान ९ बजे पोखरा–३ नदीपुरको कन्या क्याम्पसमा उद्घाटन समारोह र इपिएस तालिमबाट हुनेछ । त्यसपछिका दिनमा महिला तथा युवाको सशक्तीकरण, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा स्वास्थ्य जागरूकतामूलक कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक जेसी नन्दकुमारी ढुंगानाले जानकारी दिइन् ।


कार्यक्रम अन्तर्गत जेठ ११ गते आइतबार ‘कौसीखेती तथा फोहोर व्यवस्थापन तालिम’, जेठ १२ गते सोमबार ‘पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता’, जेठ १३ गते मंगलबार ‘आधारभूत कानुनी सचेतना तालिम’, जेठ १४ गते बुधबार ‘ज्येष्ठ नागरिकसँग जेसिज युवा कार्यक्रम’, जेठ १५ गते बिहीबार ‘स्वास्थ्य शिविर’ र जेठ १६ गते शुक्रबार ‘खाना तथा खाद्यान्न विततरण’ पोखराको केदारेश्वर मन्दिरमा हुने छन् ।

Advertisement


यी कार्यक्रम पोखरा लेडी जेसिजको आन्तरिक पहलमा जेसी महिला, जेसी युवा, विद्यार्थी, स्थानीय समुदाय, क्यान्सर पीडित तथा विभिन्न संघ, संस्थाको सहकार्यमा आयोजना गरिने छन् । युवालाई नेतृत्वदायी भूमिकामा ल्याउने, महिला सशक्तीकरणलाई प्रवद्र्धन गर्ने, तथा सामाजिक दायित्वप्रति नागरिकलाई जागरुक गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास लिइएको छ ।


पोखरा लेडी जेसीज अध्यक्ष अनिता थापा खड्काले समाजमा परिवर्तन ल्याउन युवाको सक्रियता अपरिहार्य रहेको बताउँदै सप्ताह कार्यक्रमको सफलताका लागि सबैलाई सक्रिय सहभागिताको आह्वान गरेकी छन् । साप्ताहिक कार्यक्रम जेसी महिला, जेसी युवा, विद्यालयका विद्यार्थी, स्वास्थ्यकर्मी, प्रशिक्षक तथा स्थानीय जनसमुदायलाई लक्षित गरी तयार पारिएको हो । पत्रकार सम्मेलनमा कार्यक्रमहरुका प्रायोजक सन्तान आइभिएफका नीलकण्ठ पराजुली, पोखरा जेसिजका भाइराजा राना र सजना कर्माचार्य, कमला शर्मा, रेजिना कटवाल र इशा आलेले समेत बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया