पोखरामा प्यानको दोस्रो बृहत सम्मेलन हुने

समाधान संवाददाता २०८२ जेठ १० गते १५:५५

पोखरा ।

Advertisement


सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) को दोस्रो बृहत सम्मेलन पोखरामा हुने भएको छ । शुक्रबार पोखरामा पत्रकार सम्मेलनमा संस्थाका गण्डकी प्रदेश अध्यक्ष वामदेव पौड्यालले गैर–राजनीतिक र गैर–नाफामूलक संस्था प्यानले आगामी जेठ २३ र २४ सम्मेलन गर्न लागेको जानकारी दिए ।


प्यानमा देशभरका ३० हजारभन्दा बढी सामुदायिक विद्यालयका प्रधानाध्यापक आवद्ध छन् । प्यानले प्रत्येक वर्ष फरक–फरक प्रदेशमा थीम आधारित राष्ट्रिय सम्मेलन गर्दै आएको छ । यो वर्ष गण्डकी प्रदेशको पोखरामा सम्मेलन गर्न लागेको पौड्यालले बताए । सम्मेलनमा १ हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षाविद, पालिका प्रमुखहरू, विदेशी प्रतिनिधिहरू र नीति निर्माताहरूको सहभागिता हुने उनको भनाइ थियो । सम्मेलनमा ‘प्यान अवार्ड २०८२’ हुनेछ । जसअन्तर्गत प्रत्येक प्रदेशबाट उत्कृष्ट आधारभूत र माध्यमिक विद्यालय, प्रधानाध्यापक र उत्कृष्ट पालिका तथा एक महानगर वा उपमहानगरलाई सम्मान गरिनेछ । प्रत्येक प्रदेशबाट एक जना बहालवाला दीर्घसेवी प्रधानाध्यापकलाई सम्मानित गर्ने गत वर्षको अभ्यासलाई निरन्तरता दिइने पौड्यालले सुनाए ।


छनोट समितिले विद्यालय, पालिका र प्रधानाध्यापकहरूबाट प्राप्त आवेदन तथा सिफारिसलाई आधार बनाई २५ वटा मापदण्डका आधारमा निष्पक्ष छानबिन गरेर अवार्ड दिने उनको भनाइ थियो । छनोट समितिको नेतृत्वमा छन्, शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला ।


प्यानका कार्यक्रमहरूले प्रधानाध्यापकहरूको आत्मविश्वास अभिवृद्धि गर्दै नेतृत्वमा नवीन दृष्टिकोण ल्याउने उल्लेख गरिएको छ । सामुदायिक विद्यालयहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र संयुक्त राष्ट्रसंघजस्ता संस्थासँग सहकार्य गरी विद्यालयको क्षमता विकास गर्ने प्यानले जोड दिने अध्यक्ष पौड्यालले बताए ।

Advertisement


प्यानले शिक्षा क्षेत्रमा प्रधानाध्यापकहरूको भूमिका सशक्त बनाउँदै गुणस्तरीय शिक्षाको आधार तयार गरिरहेको उनको दाबी थियो । प्यानले आगामी दिनमा विद्यालयबीचको असमानता घटाउने, शिक्षक र प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने र नवीनतम प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रमा गुणस्तर सुधार गर्ने योजना बनाएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया