पत्रकार महिला भण्डारी, शर्मा र जिसी पुरस्कृत

समाधान संवाददाता २०८२ जेठ १० गते १७:४९

पोखरा ।

Advertisement

पोखरामा शनिबार पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रम तथा पुरस्कार अर्पण कार्यक्रम भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र सञ्चारिका समुह गण्डकीको आयोजनामा कार्यक्रम भएको हो ।


कार्यक्रममा पत्रकार महासंघ गण्डकीका महासचिव जमुना शर्मा र राष्टिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीलाई सञ्चारिका पत्रकारिता पुरस्कार गरिएको हो । उनीहरुलाई २०/२० हजार रुपैयाँ प्रदान गरिएको हो । म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड अर्पण गरिएको थियो । पुरस्कारको राशि १० हजार रुपैयाँ छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारको नेताको गुण गाउने नभएर सरकारका चुनौती, समस्यालाई उजागर गर्नु रहेको बताए । पत्रकार तथा मिडिया हाउसले ‘राज्य व्यवस्थालाई कसरी अझ सुदृढ र उत्तरदायी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।


‘पत्रकारले सरकारकार राम्रा पक्ष देखाउनु राम्रो हो तर सरकारका गल्ति कमजोरीलाई पनि उजागर गर्नुपर्छ,’ उनले भने, ‘पत्रकारिताले आलोचना मात्र होइन, समाधानमुखी सोच र सकारात्मक सुझाव पनि दिन सक्नुपर्छ ।’

Advertisement


सञ्चारिका समुह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले सञ्चार कार्यालयहरु महिलामैत्री हुनुपर्नेमा जोड दिइन् । उनले महिला पत्रकारले पारिवारिक सहयोग नपाउने, कार्यालयमा तलब विभेद, लैंगिक विभेदको सामना गर्नुपरेको बताइन् । उनले महिला पत्रकारका अवस्थाका बारेमा जानकारी दिएकी थिइन् ।


स्टीङ अपरेसन पत्रकारिताको आचारसहिंता भित्र नपर्ने तथा यसले पत्रकारिताको मर्यादा माथि प्रश्न उठाउने प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेको धारणा छ ।


पत्रकारको काम सत्य, सन्तुलित र प्रमाणमा आधारित समाचार प्रकाशन गर्नु रहेको उनको भनाइ छ । जासुसी शैलीमा सूचना संकलन गरी सार्वजनिक गर्नु व्यावसायिक पत्रकारिताको अभ्यास नहुनुका साथै नैतिकता भित्र पनि नपर्ने लामिछानेले बताए ।


गलत वा भ्रामक सामग्री प्रकाशित भएमा सञ्चारमाध्यमले क्षमा माग्नुपर्ने लामिछानेको स्पष्ट भनाइ छ । उनले भने, ‘गल्ती स्वीकार गर्नु कमजोरी होइन, जिम्मेवारीबोध हो । पत्रकारिता विश्वासको व्यवसाय हो, र यो विश्वास कायम राख्न सञ्चारमाध्यमले आफूले गरेका त्रुटिप्रति जवाफदेही हुनुपर्छ ।’


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सञ्चार ऐन ६० वर्ष पुरानो कार्यान्वयनमा रहेको बताउँदै नियमावलीलाई समय सापेक्ष बनाउनु आवश्यकता रहेको औंल्याए । प्रविधिले फड्को मारेको अवस्थामा पनि सञ्चार ऐन, कानुन परिमार्जन गर्न नसक्नु लज्जास्पद रहेको उनको भनाइ छ । मिडिया हाउसको नियमित अनुगमन भएमा पत्रकारिताको गुणस्तरमा सुधार आउनुका साथै भ्रामक र अनैतिक सामग्रीको प्रकाशनमा रोक लगाउन सकिने उनले बताए ।


कार्यक्रममा प्रेस रजिस्टार गण्डकीका प्रमुख विमला भण्डारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए । कार्यक्रममा गण्डकीका ७५ जना पत्रकारको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया