कास्की कांग्रेस : ३ क्षेत्र एउटै उद्देश्य

समाधान संवाददाता २०८२ जेठ १० गते १९:२१

पोखरा ।

Advertisement

नेपाली कांग्रेस कास्कीका तीनवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति र पदाधिकारीको संयुक्त बैठक शनिबार भएको छ । बैठकले जिल्लाभर पार्टी संगठनलाई सशक्त, जिम्मेवार, जनमुखी र उत्तरदायी बनाउने र समन्वयात्मक बैठकहरूलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकमा कास्की क्षेत्र नं–१ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, क्षेत्र नं–२ का सभापति केशरप्रसाद निर्दोषी र क्षेत्र नं–३ का सभापति मनोज गुरुङ सहभागी थिए । उनीहरूले पार्टी संगठनलाई थप बलियो बनाउने अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकले क्रियाशील सदस्य नवीकरणका लागि फारम सम्बन्धित वडा समितिमा पुगिसकेको जानकारी दिँदै केन्द्रले तोकेको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गर्ने र मातहत समिति तथा कार्यकर्तालाई सहयोग गर्ने निर्णय गरेको छ । त्यसपछि नयाँ क्रियाशील सदस्यता वितरणको तयारीस्वरूप अध्ययन समिति गठन गर्ने सहमति पनि गरिएको छ ।

सरकार गठनमा सहभागी गठबन्धनको दलका हैसियतले संघीय, प्रदेश र स्थानीय तीनै तहको बजेट जनमुखी, नागरिकमैत्री र सुशासन उन्मुख बनाइने सुनिश्चितताका लागि कांग्रेसले निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय गरेको कास्की–३ का सभापति मनोज गुरुङले जानकारी दिए ।

कास्की–१ का सभापति राजेन्द्रमणि लामिछानेले भने निकट भविष्यमा बजेट, क्रियाशील सदस्यता र भातृसंस्थाहरूका विषयमा तीनै क्षेत्रमा व्यापक भेला आयोजना गरिने जानकारी दिए । उनले भातृसंस्थाबीचका विवाद समाधानमा क्षेत्रीय समिति सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाए ।

Advertisement

बैठकमा प्रदेशसभा १(ख) सभापति कृष्णप्रसाद कोइराला, प्रदेशसभा २(ख) का सभापति दीपेन्द्र मर्शानी, कास्की–१ का क्षेत्रीय सचिव सरोज केसी, कास्की–२ का क्षेत्रीय सचिव तथा पोखरा–४ का वडाअध्यक्ष देवकृष्ण पराजुली, कास्की–२ की क्षेत्रीय सहसचिव तथा पोखरा महानगरकी जनप्रतिनिधि भावना श्रेष्ठ, क्षेत्रीय सहसचिव विश्वराज आचार्य र क्षेत्रीय कोषाध्यक्ष ललित कुँवर समेत सहभागी थिए ।

कास्की–२ का सभापति निर्दाेषीले बैठकलाई घुम्ती बैठकको शैलीमा महानगर र पालिका समितिसमेत समेट्ने गरी विस्तार गरिने जनाउँदै संगठन सुदृढीकरणलाई व्यापक अभियानको रूपमा अगाडि बढाउने बताएका छन् । बैठकमा संगठन बलियो बनाउने हो भने सदस्यहरूले गर्व गर्नसक्ने बलियो पार्टी बन्ने, भन्ने निष्कर्ष निकालिएको थियो ।

तपाईको प्रतिक्रिया