स्थिरताका लागि कार्यकारी राष्ट्रपतिः अध्यक्ष दाहाल

पोखरा ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याई छाड्ने बताएका छन् ।
मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सिलसिलामा आइतबार पोखरामा आयोजित जनसंवाद कार्यक्रममा उनले संविधान निर्माणका क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा अडिग रहेको स्मरण गरे । तर, नेपाली कांग्रेस र एमालेको असहमतिका कारण त्यो व्यवस्था तत्कालीन अवस्थामा लागू गर्न नसकिएको उनको भनाइ छ ।
‘हामीले त्यो बेलामै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भनेका थियौं । तर सहमति नजुट्दा संविधान बन्ने नै हो कि होइन भन्ने अवस्था आयो,’ उनले भने, ‘त्यसैले नोट अफ डिसेन्ट लेखेर हामीले १० वर्षपछि संविधानको समीक्षा गर्ने बेला फेरि यो विषय उठाउने भन्यौं । अहिले त्यो समय आएको छ । अब जनताको बीचमा यो मुद्दा लिएर जान्छौं ।’
दाहालले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने स्पष्ट गर्दै त्यसका लागि जनमत तयार पार्न कार्यकर्तालाई आग्रह गरे । ‘देशलाई नयाँ संरचनामा लैजान यो आवश्यक भएको छ,’ उनले भने । उनले चुनाव प्रणालीमा पनि व्यापक पुनरावलोकन आवश्यक रहेको बताए । प्रचण्डले माओवादी केन्द्रको अगुवाइमा सञ्चालित मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अपेक्षाभन्दा बढी सफल भएको दाबी गरे ।
झापादेखि कञ्चनपुरसम्मको अभियानमा विभिन्न दलका नेता, नागरिक समाजका अगुवा, बुद्धिजीवी, शिक्षक, मजदुरलगायतको उल्लेखनीय सहभागिता रहेको उनले बताए । ‘तराइ–मधेसका जुनसुकै ठाउँमा जाँदा स्थानीय सरकारका जुनसुकै पार्टीका नेताहरूले अभियानको स्वागत गरे,’ उनले भने, ‘कतै कतै त स्वागतमा प्रतिस्पर्धा नै भयो । कसले राम्रो अभिनन्दन गर्ने भन्ने होड चल्यो ।’
अभियानले सम्बन्ध विस्तारमात्र नभई पार्टी एकताको संकेत पनि दिएको उनले बताए । मधेसमा मात्रै आठदेखि दश हजारसम्म नेता–कार्यकर्ता अभियानमा जोडिएको उनको भनाइ छ । प्रचण्डले जनजागरण अभियान माओवादी पार्टीको पुनःऊर्जाशील रूपान्तरणको संकेत भएको उल्लेख गरे ।
‘पोखराबाट काठमाडौं जाँदै छौं,सम्भवतः दुईवटा पार्टी एकता हुँदै छ,’ उनले भने, ‘अभियानले माओवादीमय वातावरण बनाउँदै लगेको छ ।’ अब पार्टीले नयाँ आर्थिक क्रान्तिको अभियान सुरु गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।
पोखराको चिप्लेढुंगामा आयोजना गर्न लागिएको जनसभा मौसम खराबीका कारण अन्तिम समयमा पार्टी प्यालेसमा सारिएको थियो । यसप्रति गुनासो गर्दै प्रचण्डले भने, ‘मौसम, मौसमविद् र गुगलले हामीलाई धोका दिए ।’ यद्यपि, उनले पोखरामा भव्य जनसभा पुनः आयोजनाको प्रतिबद्धता जनाए । शुक्रबार बागलुङ र पर्वत हुँदै अभियान पोखरा आइपुगेको हो ।
पोखरा आएर अध्यक्ष ‘प्रचण्ड’ले मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसँग यहाँका जनतालाई जोडेको बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको उल्लेख गर्दै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताए ।
‘खानै नपुगेर विदेश जाने वातावरणको अन्त्य गर्न आवश्यक छ, सरकारले वातावरण बनाओस्, मैले साथ दिन्छु, तर नेपालमा केही पनि भएन भन्ने कुरा भ्रममात्रै हो,’ जनजागरण सभामा शुक्रबार प्रचण्डले भने । नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए । सरकार भ्रष्टाचारीलाई कारबाही नगरी बचाउमा लागिरहे ठूलो आन्दोलन गर्ने दाहालको चेतावनी छ ।
समाजवादी क्रान्तिको आधार तयार गरेर लैजाने सपनासहित जनजागरण अभियान अघि बढाइएको दाहालले बताए । समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना संविधानले गरे पनि समाजवादका बारेमा स्पष्ट नभएकाले आधार तयार गर्नका लागि माओवादीले जनतासँग सम्पर्क बढाएको उनको भनाइ छ ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले उठाएका सामाजिक न्याय र आर्थिक समृद्धि तथा सुशासनका मुद्धालाई जनताका बीचमा लैजान आग्रह गरे । महासचिव देव गुरुङले माओवादी नेतृत्वको सपना र दृष्टिकोण अनुसार निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गको बाँकी काम समेत छिटै पूरा गर्नका लागि सरकालाई दवाब दिने उल्लेख गरे ।
तपाईको प्रतिक्रिया