सुकुम्बासीले खोजे समस्या समाधानको प्रतिबद्धता

समाधान संवाददाता २०८२ जेठ ११ गते ११:५९

पोखरा ।
भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलहरुसँग अन्तक्र्रिया गरेका छन् । पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन वडा कार्यालयले सूचना जारी गरेपछि उनीहरुले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका थिए ।

Advertisement


२०३६ सालदेखि बसोबास गरिआएका व्यक्तिहरुलाई ३५ दिनभित्र घरजग्गा खाली गरिदिन वडा कार्यालय नं. ९ ले गएको वैशाख २ गते पत्र काटेको थियो । त्यो जग्गा पोखराका विभिन्न व्यक्तिका नाममा दर्ता भएको भन्दै खाली गरिदिन कार्यालयले पत्र काटेको हो । कित्ता नम्बर १७२ को ११५ रोपनीमध्ये ७२ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको छ ।


पृथ्वीचोकको जग्गा खाली गर्ने सूचना जारी भएको ३५ औँ दिनमा पोखरामा आयोजित कार्यक्रममा विभिन्न दलका नेताहरूले सुकुम्बासी समस्या समाधानका लागि प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा भएको कार्यक्रममा उनीहरुको यस्तो भनाइ आएको हो ।


अन्तक्रिया कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चकी केन्द्रीय सदस्य निर्मला नेपालीले सबै दल पटक–पटक सरकारमा सहभागी भए पनि समस्या समाधान गर्न चासो नदिएको बताइन् । भूमि अधिकारकर्मी नेपालीका अनुसार सुकुम्बासी समस्याको आडमा धनी पुँजीपतिहरूलाई जग्गा दिने काम भइरहेको छ ।


कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवरले चुनावका बेलामा पार्टीहरूले सुकुम्बासीलाई झुक्याएको भन्दै अबका दिनमा समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए । कांग्रेस नेता कुँवरले सुकुम्बासी समस्या समाधानमा आफू र आफ्नो पार्टी सधैं लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

Advertisement


सोही कार्यक्रममा नेकपा (एमाले) कास्कीका उपाध्यक्ष भेषराज बरालले समस्या समाधान नहुनुमा कुनै एउटै दललाई दोष दिएर उम्कन नमिल्ने तर्क गरे । विगतमा सबै दलहरु सरकारमा सहभागी भएको स्मरण गराउँदै अबका दिनमा सबैको सहकार्यमा कार्य सम्पन्न गर्नुपर्ने एमाले नेता बरालको भनाइ थियो ।


राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका महामन्त्री वरुणविक्रम राणाले सत्तारुढ दलहरूको अर्कमण्यताका कारण सुकुम्बासी समस्या समाधान हुन नसकेको दाबी गरे । प्रधानमन्त्रीले चाहने हो भने ६ महिनाभित्र समस्या समाधान गर्न सकिने उनको तर्क थियो ।


कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका उपाध्यक्ष राजु राईले सत्तारुढ दलसँग संसदमा दुई–तिहाइ बहुमत रहेकोले सुकुम्बासीसम्बन्धी आवश्यक निर्णय गर्न कुनै समस्या नहुने बताए । सत्तारुढसहित अन्य दलहरु सुकुम्बासी समस्या समाधान भए भोट बैंक समाप्त हुने डरबाट त्रसित भएको भन्दै आवश्यक निर्णय गरेर देखाउन रास्वपा नेता राईले चुनौती दिए ।
नेकपा (माओवादी केन्द्र) का नेता भीम नेपालीले सुकुम्बासीको पक्षमा आफ्नो पार्टी सधैं लागि रहने भन्दै समस्या समाधान नभएसम्म कसैलाई पनि घरजग्गाबाट उठिबास नगर्न चेतावनी दिए ।


आयोजक राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकीका अध्यक्ष रामबहादुर लामिछानेले गणतन्त्र आए पनि जनताको घरमा लालपुर्जा नआएकोतर्फ सबै राजनीतिक दलहरूको ध्यान जानुपर्ने बताए ।


मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेम गुरुङले पटक–पटक भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान आयोगहरु गठन गरिए पनि कास्कीमा समस्या जस्ताको तस्तै रहेकाले सरकारहरु असफल बनेको जानकारी दिए ।
कार्यक्रममा कास्कीका विभिन्न वडा तथा टोलमा भूमिहीन र अव्यवस्थित बसोबासीहरुले भोगेका समस्याबारे सहभागीहरुले राजनीतिक दलका नेताहरुलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया