‘नागरिकलाई सर्वोपरी ठाने काम राम्रो हुन्छ’

समाधान संवाददाता २०८२ जेठ ११ गते १२:०७

पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले शान्ति सुरक्षाको अवस्थाको बारेमा अन्तरक्र्रिया गरेको छ । कार्यक्रममा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले नागरिकका अपेक्षालाई सारभूत रुपमा सम्बोधन गर्न सामुदायिक प्रहरीको अवधारणा आएको बताए ।

Advertisement

उनले जनतासँगको सुमधुर कायम गरेर मात्र शान्ति सुरक्षाको काम प्रभावकारी हुने चर्चा गरे । स्थानीय समुदाय र नेपाल प्रहरीको सयुक्त प्रयासबाट शान्ति सुरक्षा र समुन्नत समाज निर्माण गर्न सकिने उनले उल्लेख गरे ।


एआइजी कार्कीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत समेत विकृति विसंगति न्यूनीकरणको काम भएको चर्चा गरे । ‘नागरिकसँगको समन्वयमा मुलुभूत रुपमा शान्ति, समृद्धि, सुसम्बन्ध र विकास सम्भव छ,’उनले भने, ‘नेपाल प्रहरीले नागरिकलाई सर्वोपरी ठाने मात्र राम्रो काम गर्न सकिन्छ ।’ उनले सामुदायिक सेवा केन्द्रले निश्वार्थ भावनाले आफ्नै श्रोतबाट काम गरेको जनाए । उनले शान्ति सुरक्षाको काम जागरुक व्यक्तिले मात्र गर्न सक्ने तर्क गरे ।


उनले कास्कीका ७ वटा सामुदायिक सेवा केन्द्रले समुदायको समस्या पहिचान गरेर समाधान गर्न सकेमात्र समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए । गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षकसँग सबै जिल्लाका प्रमुखले कार्यसम्पादन सम्झौता गरे नागरिक सुनुवाईको काम गर्ने जानकारी दिदै उनले जिल्ला, इलाका, वडा प्रहरी कार्यालयले समेत नागरिक सुनुवाईको काम गर्ने उल्लेख गरे ।


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले घर घरमा प्रहरी अभियान अन्तर्गत कास्कीका १ लाख घरपरिवारमा प्रहरी पुग्ने जानकारी दिए । उनले अहिलेसम्म ४० हजार घरधुरीमा प्रहरी पुगेको बताए ।

Advertisement


‘विकृति विसंगति रहित समाजको निर्माण, शान्ति सुरक्षा सामुदायिक सेवा केन्द्रको अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी, पोखरा महानगरपालिका वडा नम्बर १४का अध्यक्ष बोधराज कार्की, सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका संस्थापक अध्यक्ष मंगल नेपाली, समितिका अध्यक्ष भीम पराजुली, वरिष्ठ उपाध्यक्ष मनपति भण्डारी, महासचिव घनश्याम तिम्सिना, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बराल नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेल लगायतले सामुदायिक सेवा केन्द्रका गतिविधिको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया