गण्डकी प्रदेशसभामा सरकारप्रति विपक्षीको चर्को आलोचना

पोखरा ।
गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आइतबारबाट सुरु भएको छ। अधिवेशनको पहिलो दिन विपक्षी दलका नेताहरूले वर्तमान प्रदेश सरकार जनअपेक्षा अनुरूप काम गर्न नसकेको भन्दै चर्को आलोचना गरेका छन्। माओवादी केन्द्र संसदीय दलका नेता तथा प्रमुख विपक्षी दलका नेता हरिबहादुर चुमानले दुई ठूला दलको गठबन्धनले सरकार बनाए पनि त्यसले सुशासन, पारदर्शिता र जनहितका मुद्दामा चासो नदेखाएको आरोप लगाए। ‘सरकार जनतालाई निराशा मात्र दिएको छ, प्रदेश सरकारको औचित्यमै प्रश्न उठ्न थालेको छ,’ उनले भने।
चुमानले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने संवैधानिक मान्यता विपरीत आफूहरूले सहभागिता नपाएको भन्दै असन्तोष व्यक्त गरे। उनले वर्तमान कार्यशैली बद्लिएन भने संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको विश्वास खस्कने चेतावनीसमेत दिए।
राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले दुई ठूला दल मिलेर बनेको सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए। ‘बिराला धेरै भए पनि मुसा मरेको छैन,’ उनले भने, ‘सरकार आफ्ना मान्छे भर्ना गर्नमै सीमित छ।’ देशमा आन्दोलन, भ्रष्टाचार र योजनाको अभावले जनजीविका प्रभावित भएको उल्लेख गर्दै उनले गणतन्त्रको नाममा लुटतन्त्र संस्थागत गरिएको टिप्पणी गरे।
यसैबीच, एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले भने वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठित भएको स्पष्ट पारे। ‘सरकार बनाउने क्रममा कतिपय कमजोरी भएका होलान्, तर सरकार आफ्नै गतिमा अघि बढिरहेको छ,’ उनले भने। अधिकारीले संघीय सरकारले विकास निर्माणमा गति दिएको दाबी गर्दै संविधान संशोधनलगायतका विषयहरू सबै दलको सहमतिमा अघि बढ्ने स्पष्ट पारे। उनले प्रतिपक्षको भूमिका महत्वपूर्ण भए पनि सहमतिलाई तोडेर एमालेमाथि झुटो आरोप नलगाउन आग्रह गरे। ‘भद्र सहमति तोडेर हामीलाई दोष थोपर्नु अन्याय हो,’ उनले भने, ‘प्रदेशको विकासका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्छ।’ अधिकारीले गणतन्त्र सुदृढ भइसकेको भन्दै राजावादी आन्दोलनबाट कुनै खतरा नभएको टिप्पणीसमेत गरे।

तपाईको प्रतिक्रिया