गण्डकीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै

गण्डकीका नागरिकको प्रतिव्यक्ति आय १६१९ डलर पुग्ने

समाधान संवाददाता २०८२ जेठ १३ गते १०:४०

पोखरा ।
गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । कार्यालयले चालु आर्थिक वर्षका लागि यो अनुमान हो ।

Advertisement


कार्यालयले सोमबार सार्वजनिक गरेको प्रादेशिक राष्ट्रिय लेखा अनुमानअनुसार गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।


आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक अनुमानअनुसार उपभोगको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेश (५.५१ प्रतिशत) मा देखिएको छ ।

Advertisement


गण्डकी र बागमती प्रदेशमा प्रतिव्यति आय कुल राष्ट्रिय औसतभन्दा बढी रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यो आवमा गण्डकीका नागरिकको प्रति व्यक्ति आय १६१९ डलर पुग्ने कार्यालयको प्रारम्भिक अनुमान छ । चालु आवमा बागमती प्रदेशका नागरिकको प्रतिव्यक्ति आय २६०१ अमेरिकी डलर पुग्नेछ ।


चालु आवमा राष्ट्रिय तहमा प्रतिव्यक्ति आय १४९६ डलर पुग्ने तथ्यांक समन्वय कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । प्रतिव्यक्ति आय कोशीमा १४०१, लुम्बिनीमा १२०२, सुदूरपश्चिममा ११५३, कर्णालीमा १०८९ र मधेशमा ९३२ हुने कार्यालयले जनाएको छ । बागमती र गण्डकीबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम रहेको उनले बताए ।

Advertisement


स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र मधेस प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान गरिएको निर्देशक बरालले बताए ।


आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक अनुमान, आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० को अन्तिम तथ्यांकअनुसारको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर प्रस्तुत गरिएको तथ्यांक समन्वय कार्यालय, कास्कीका तथ्यांक समन्वय अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए । जसअनुसार आर्थिक वर्ष २०७९/८० देखि आर्थिक वर्ष २०८१/८२ सम्मको अवधिमा सबै प्रदेशको आर्थिक वृद्धिदर क्रमशः वृद्धि हुँदै गएको देखिन्छ ।

तथापि, आर्थिक वर्ष २०८०/८१ बाट आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर नगण्य रूपमा मात्र बढेको देखिन्छ । मुलुकको जीडीपीमा सबैभन्दा बढी योगदान भने बागमतीको रहनेछ । बागमतीको योगदान ३६.५२ प्रतिशत रहने पोखरा कार्यालयका प्रमुख समेत रहेका सापकोटाले बताए ।


चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोग मूल्यमा करिब ५ खर्ब ४८ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख सापकोटाले बताए । गत आर्थिक वर्ष २०८०/८१ मा यो आँकडा करिब ५ खर्ब १८ अर्ब रुपैयाँ थियो ।


राष्ट्र स्तरको कुल गार्हस्थ्य उत्पादनमा गण्डकी प्रदेशको योगदान ५.८९ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्ष यो योगदान ५.०६ प्रतिशत थियो । क्षेत्रगत योगदानतर्फ हेर्दा कृषि, वन तथा माछा क्षेत्रको योगदान सर्वाधिक २७.९० प्रतिशत रहनेछ । प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान ०.३२ प्रतिशत रहने अनुमान गरिएको उनले बताए ।


गत वर्ष पनि कृषि क्षेत्रको योगदान २६.३३ प्रतिशत थियो भने प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रमा ०.३१ प्रतिशत योगदान थियो । गण्डकी प्रदेशको कुल मूल्य अभिवृद्धिमा विद्युत् तथा ग्यास क्षेत्रको योगदान १३.९७ प्रतिशत रहनेछ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको योगदान ९.४८ प्रतिशत रहने अनुमान छ ।


चालु वर्षमा भोजन तथा सेवा क्षेत्रमा सबैभन्दा बढी वृद्धि २२.०२ प्रतिशतले हुने अनुमान छ । यस विपरीत, निर्माण क्षेत्रको योगदानमा २.०९ प्रतिशतले गिरावट आउने देखिएको प्रमुख सापकोटाले बताए ।


कार्यक्रममा नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले तथ्यांक कार्यालयसँग मिलेर प्रादेशिक तथ्यांकमा जोड दिने बताए । ‘हामीले तथ्यांकलाई नै सहयोग पुग्ने गरी केही कार्यक्रम राखेका छौं,’ उनले भने । यसले प्रदेशको तथ्यांकलाई सहयोग पुग्ने अपेक्षा गरिएको उनले सुनाए । तथ्यांकलाई आधार मानेर विकास निर्माणका काम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया