पोखरा र कपिलवस्तुका पर्यटन व्यवसायीबीच अन्तरक्रिया

समाधान संवाददाता २०८२ जेठ १३ गते १२:४५

कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न सहकार्य गर्ने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले पृथ्वी होटल व्यवसायी समिति कास्कीको भ्रमण टोलीलाई स्वागत गर्न सोमबार राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले पोखरामा पर्यटक पठाउन सहकार्य गर्ने बताइन् ।


देशकै पर्यटकीय राजधानी सहर पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको चर्चा गरेकी उनले आफूहरुले आन्तरिक भ्रमणमा जोड दिएको र त्यसका लागि सबैभन्दा उपयुक्त स्थल पोखरा रहेको बताउने गरेको उल्लेख गरिन् ।


होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य सुनिता पन्तले शिवराज नगरपालिकाका जनप्रतिनिधि, व्यवसायी र स्थानीयलाई पोखरा भ्रमण गर्न निम्तो दिइन् ।

Advertisement


पृथ्वी होटल व्यवसायी समितिका सल्लाहकार विक्रम थकालीले पोखरा विश्वकै सुन्दर सहर भनिने गरेको र पृथ्वी चोकमा रहेका व्यवसायीहरुको संस्थाले पर्यटन प्रर्वद्धन गर्न आएको बताए ।


पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण न्युरेले नेपालको पर्यटन सुस्त अवस्थामा रहेका बेला पोखरा महानगरपालिकाले अत्याधिक पर्यटक भित्रयाउन पोखरा भ्रमण वर्ष २९२५ घोषणा गरेको र यसले व्यवसायी उत्साहित भएको बताए ।

Advertisement


शिवराज नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नेत्रप्रसाद बेलबासेले प्रकृतिले सुन्दर सहर पोखरा आफू धेरैपटक पुगेको र पुग्दा उतै बस्न मन लाग्ने गरेको अनुभव सुनाए । पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत) ले देशकै पर्यटकीय राजधानी पोखरामा धेरैभन्दा धेरै पर्यटक भित्रयाउन पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर आफूहरु कपिलवस्तु आइपुगेको जानकारी दिए । खाना तथा आवासमा २० प्रतिशत छुट गरिएको ।

साहसिक पर्यटकका लागि प्याकेजमा १० प्रतिशत छुट लगायतका छुट दिइएको जानकारी दिए । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन उनले पोखरा भ्रमणका लागि निम्तो गरे ।
पोखरा महानगरको धेरैभन्दा धेरै पर्यटक भित्र्याउने नीति अन्तर्गत घोषित पोखरा भ्रमण वर्ष २०२५लाई सफल पार्न र पोखराको बारेमा जानकारी गराउन आफूहरुले प्रर्वद्धनात्मक कार्यक्रम लिएर आएको छ ।


कार्यक्रममा शान्ति स्थापना गृह कपिलवस्तुका अध्यक्ष भूमिराज भट्टराई, भ्रमण संयोजक विदुर ढुंगाना, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तुका महासचिव पदम ढकाल र कोषाध्यक्ष लक्ष्मण न्यौपाने लगायतले उक्त अवसरमा पर्यटनका विभिन्न पक्षका बारेमा बोलेका थिए ।


पृथ्वी होटल व्यवसायी समितिका भ्रमण संयोजक विदुर ढुंगानाले ‘पोखरा जाऊँ प्रकृतिसँग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारालाई आत्मसात गर्दै अयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त प्रवद्र्धनात्मक सहयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया