दलित युवालाई डिजिटल मार्केटिङ तालिम

पोखरा ।
पोखरा महानगरपालिकाको वडा नम्बर १६ ले दलित युवा लक्ष्य गरी डिजिटल मार्केटिङ तालिम सुरु गरेको छ । पछिल्लो प्रविधिलाई आत्मसात् गर्दै सुरु गरिएको यो तालिममा वडाका दलित समुदायका करिब २७ जना युवायुवतीले सहभागिता जनाएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिइन् ।
पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा एक महिनासम्म सञ्चालन हुने तालिमको बुधवार पूर्ववडाध्यक्ष दानबहादुर बानियाँले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै पूर्ववडाध्यक्ष बानियाँले युवा पुस्तालाई स्वरोजगार बनाउन डिजिटल मार्केटिङ उपयुक्त माध्यम भएको बताउँदै विकसित प्रविधिमा चासो राख्न सुझाव दिए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले दक्ष युवाशक्ति रोजगारीको नाममा विदेशिनु गलत भएको बताउँदै डिजिटल मार्केटिङले स्वरोजगारी सिर्जना गर्न सक्ने स्पष्ट पारे ।
कार्यक्रममा वडा सदस्य राजकुमारी बानियाँ, रामचन्द्र आचार्य, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, एकल महिला समूहकी अध्यक्ष दुर्गा केसी थापा, नमुना क्लबका अध्यक्ष मीनबहादुर गुरुङ, परिवर्तनन्युजका पत्रकार प्रकाश अधिकारी, क्लाउड टेक आइटी सोलुसनका किरण रेग्मीलगायतले तालिम लिएर मात्र नभई सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमा मात्र सफलता प्राप्त हुने बताए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य मञ्जु नेपालीले गरेकी थिइन् । तालिममा सहभागी युवालाई क्लाउड टेक आइटी सोलुसनले सहजीकरण गर्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया