पोखरा—नेपालगन्ज दैनिक हवाई उडान गर्न माग

बर्दिया ।
गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले भारतीय पर्यटकलाई आकर्षित गर्न सके नेपालमा पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्न सक्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई गुलरियामा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले पश्चिम नेपालका पर्यटक र भारतीय पर्यटकलाई समेत पोखरा भित्रयाउन पोखरा र नेपालगन्जबीच कम्तीमा दैनिक दुईवटा हवाई उडान हुनुपर्नेमा जोड दिए । हाल नेपालगन्ज र पोखराबीच हप्तामा दुईवटा उडान हुने गरेको छ ।
गुलरिया नगरपालिकाको ८३ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको भन्दै उनले भारतबाट आउने पर्यटकहरु पोखरा जान सक्ने र पोखराबाट आएका पर्यटकहरू बर्दिया आउन सक्ने टिप्पणी गरे ।
गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले पोखरा अत्यन्त मनमोहक क्षेत्र भएको र बर्दियामा पनि धेरै पर्यटकीय क्षेत्रहरू रहेको जानकारी दिइन् । आ–आफ्ना विशेषता बोकेका दुवै पर्यटकीय क्षेत्रहरूबीचको सहकार्यले आगामी दिनमा पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने उनको अपेक्षा छ ।
गुलरिया नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मुकुन्द अर्यालले भारतीय पर्यटकको चासो पोखरा र मुक्तिनाथमा हुने गरेको जानकारी दिए । उनले भारतको अयोध्या र मथुरालाई पोखरा र मुक्तिनाथसँग जोड्नुपर्ने बताए । उनले हिमाल हेर्न पोखरा किन नजाने र गैँडा हेर्न बर्दिया किन नआउने भन्दै त्यसका लागि दुवै पक्षको सहकार्य आवश्यक रहेको औँल्याए ।
भारतबाट आउने पर्यटकहरु पोखरा जान सक्ने र पोखराबाट आएका पर्यटकहरु बर्दिया आउन सक्ने
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत)ले पोखरा महानगरले ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरेको र त्यसलाई सफल पार्न आफूहरूले आन्तरिक पर्यटकलाई पोखरा बोलाउन आएको जानकारी दिए । उनले पोखराका आवास र खानामा २० प्रतिशत छुट र साहसिक खेलहरु (प्याराग्लाइडिङ, बन्जी जम्प) मा १० प्रतिशत छुटको घोषणा गरिएको बताए ।
कार्यक्रममा पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण न्यौपाने, होटल अर्गनाइजेसन बर्दियाकी अध्यक्ष संगीता थापा, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेलगायतले बर्दिया र पोखराको पर्यटन प्रवद्र्धनलगायतका विषयमा बोलेका थिए ।
पृथ्वी होटल व्यवसायी समितिका भ्रमण संयोजक विदुर ढुंगानाले ‘पोखरा जाऊँ, प्रकृतिसँग रमाऔँ, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौँ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त प्रवद्र्धनात्मक सहयोग रहेको बताए ।
सोमबार बिहान पोखराबाट देशको पश्चिमी भागमा आन्तरिक पर्यटक भित्र्याउन निस्केको टोलीले सोमबार नै लमही होटल व्यवसायी समिति र कपिलवस्तुका होटल व्यवसायीहरूसँग छलफल गरेको थियो । होटल व्यवसायी महासंघकी केन्द्रीय सदस्य सुनिता पन्तका अनुसार मंगलबार बिहान देउखुरी होटल व्यवसायी समिति र तुलसीपुर होटल व्यवसायी समितिसँग, दिउँसो कोहलपुर होटल व्यवसायी समितिसँग छलफल भएको थियो । साँझ होटल अर्गनाइजेसन बर्दियासँग अन्तत्र्रिmया गरेको टोली नेपालगन्ज, गुलरिया, धनगढी, अत्तरिया, महेन्द्रनगर, चिसापानी र स्वर्गद्वारी पुगेर पोखरा फर्कनेछ ।
तपाईको प्रतिक्रिया