पोखरा २८ मा कानुनी सचेतना प्रशिक्षण
लेखनाथ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कालिकाको आयोजनामा एकदिने कानुनी सचेतना प्रशिक्षण मंगलबार सम्पन्न भयो । ‘राइट फर चिल्ड्रेन’को विशेष सहयोग तथा रत्नशोभा माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित उक्त प्रशिक्षणमा विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु र अभिभावकहरूलाई लक्षित गरी जानकारी दिइएकाे विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले विकृति र विसंगतिबाट मुक्त समाज निर्माणमा सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू टोलटोलमा सञ्चालन गर्न सुझाव दिए । उनले महिला समूह, टोल विकास संस्था लगायत सामाजिक संघसंस्थामार्फत सचेतना फैलाउन जोड दिए र वडाको तर्फबाट सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, हंसपुर इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक हरि सलामी मगरले ‘लागुऔषध के हो?’ भन्ने विषयमा प्रस्तुति दिँदै नेपालमा हाल कक्षा ७ देखि १२ सम्मका करिब १ लाख २० हजार विद्यार्थी लागुऔषधको कुलतमा फसेको तथ्यांक प्रस्तुत गरे ।
उनले कुलतमा परेका व्यक्तिको औसत आयु १० वर्षभित्र घट्ने बताए र त्यसका प्रकार, चरण, असर, लक्षण, सजाय तथा बच्ने उपायबारे जानकारी दिए । साथै, सामाजिक सञ्जाल प्रयोग गर्दा बढ्दो साइबर अपराधको जोखिमबारे सावधानी अपनाउन सुझाव दिँदै अपरिचित व्यक्तिबाट ब्ल्याकमेलिङ भएमा तुरुन्त नजिकको सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरे ।
कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रविण नेपालीको अध्यक्षतामा सम्पन्न भयो भने कार्यक्रम संयोजक जीवन तिवारीले स्वागत गरे । विद्यालयको तर्फबाट शिक्षक ऋषिराम रानाभाटले प्रशिक्षण कार्यक्रम उपयोगी रहेको उल्लेख गर्दै सिकेका कुरा अरूलाई पनि सिकाउन र व्यवहारमा उतार्न आग्रह गरे ।
कार्यक्रम सञ्चालन सेवा केन्द्रका सचिव वीरेन्द्रराज भुर्तेलले गरे । सहभागी विद्यार्थी कक्षा ९ की स्मृति बुढाथोकीले प्रशिक्षण प्रभावकारी रहेको बताउँदै युवालाई कुलतबाट जोगाउन यस्ता कार्यक्रमले सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । साथै, यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध पनि गरिन् ।
तपाईको प्रतिक्रिया