हेलचेक्र्याईले काल बन्दै फेवाताल !

पोखरा ।
ताल किनारको बैदामे गाउँ अचेल लेकसाइड बनेको छ । पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा रहेको तालले छेउको बस्तीको नाम र स्वरुपमात्र फेरेको छैन, आफ्नै नामसमेत बद्लेर फेवातालबाट चर्चित छ ।
डुंगा सैर, माछापालन, सिंचाईदेखि बिजुली उत्पादनसमेत हुँदै आएको फेवा यो क्षेत्रको परिचय, जीवनको आधार र अमूल्य सम्पत्ति त सावित भएको छ नै, भवितव्य र हेलचेक्र्याइँले यदाकदा कालसमेत बन्ने गरेको छ । बैशाख, जेठ महिनामा दिउँसो दिनहुँजसो चल्ने हुरी र हुने वर्षाले तालमा बारम्बार दुर्घटना हुने गरेका छन् ।
तालबाट यो आर्थिक वर्षमा मात्र ३८ जनाको जीवित उद्धार गरिएको छ भने एक जनालाई मृत निकालिएको छ । सशस्त्र प्रहरी बल कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्य तिमिल्सिना अघिल्लो वर्ष तालमा भएका दुर्घटनामा ७४ जनालाई जीवित उद्धार र छ जनाको शव निकालिएको उल्लेख गर्छन् ।
फेवामा बेला बेलामा ठूला दुर्घटना भएका थिए । २०१८ मा डुंगा पल्टिएर घाँसदाउरा काट्न हिँडेका १९ स्थानीयको ज्यान गएको थियो भने २०४३ मा वनभोज खाएर फर्किएका २१ जनामध्ये १८ को ज्यान गएको थियो । २०६१ मा डुंगा पल्टिँदा छ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
हावाहुरी र वर्षाका बेला बोटिङ, जथाभावी सर्फिङ, कायक, स्नेटबोट चलाउँदा बारम्बार हुने दुर्घटनामा ज्यानैसमेत जाने गरेको छ
‘डुंगा सैर, प्याराग्लाइडिङ, माछा मार्ने, आत्महत्या गर्ने आदि क्रममा भवितव्य र कहिलेकाँही लापरवाहीले दुर्घटना हुने गरेका छन्,’ तिमिल्सिना भन्छन्, ‘फेवाबाट अहिलेसम्म पाँच सय १७ जनाको जीवित अवस्थामा उद्धार गरिएको छ भने ४० शव निकालिएको छ ।’ यो तथ्यांक २०६९ पुसमा बाराही घाटमा रेस्क्यु टावर बनेपछिको हो ।
यही वैशाख २२ गते हावाहुरी र वर्षापछि तालबाट ८ जनाको उद्धार गरिएको थियो । त्यसको चार दिनपछि फेरि अर्काे डुंगा दुर्घटनामा तालमा डुबेका चालकको उद्धार गरियो । बारम्बार दुर्घटना भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले त्यसलाई कम गर्न सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको संयोजकत्वमा अनुगमन समिति बनाएको छ ।
वैशाख ३१ भएको सुरक्षा निकाय, प्रशासन र सरोकारवालाको बैठकले सुरक्षा उपकरण र उद्धार जनशक्तिको तयारीसहित विभिन्न निर्णय गरेको छ । रेस्क्यु टावरले खतराको साइरन बजाएपछि जोखिम नहटेसम्म डुंगा बन्द गर्ने निर्णयसमेत भएको लम्सालले जानकारी दिए ।
तालका दुर्घटनामा सुरक्षा निकायहरुले समन्वय र एकल रुपमा समेत उद्धार गर्दै आएका छन् । सशस्त्र प्रहरीले रेस्क्यु टावरसँगै विपद् तालिमप्राप्त २० जनालाई दुई सिफ्टमा परिचालन गर्ने गरेको छ । टावरसँग गोताखोरसहित साइरन, र्याफ्ट, मोटरबोटसमेत छ । हावाहुरी आउने पूर्वसंकेत दिने यन्त्र (विन्ड सेन्सर)समेत यहाँ राखिएको छ । बिग्रिएको विन्ड सेन्सर मर्मतपछि फेरि ल्याएर सञ्चालन गर्ने तयारी छ ।
नेपाल प्रहरीले सूचना आएपछि उद्धार गर्ने गरेको छ । गण्डकी प्रदेश प्रहरी गण पोखरामा रहेको विपद्को छुट्टै टोली, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालयको टोली आवश्यकता अनुसार उद्धारमा परिचालन हुने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया बताउँछन् । ‘धेरैजसो जानकारी १०० मै आउँछ, सूचना आएपछि प्रहरी परिचालित भईहाल्छ, आवश्यक परे गणको जनशक्ति बोलाइन्छ, सशस्त्रसँग पनि समन्वय हुन्छ,’ ओलियाले भने ।
फेवामा उद्धारका लागि नेपाली सेनाको उपकरणसहितको तालिमप्राप्त टोली छ । कृष्ण दल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनी गोताखोरसहितको ११ सदस्यीय टोली उद्धारका लागि खटिएको बताउँछन् । उनी भन्छन्, ‘आवश्यक उपकरणसहितको डिज्यास्टर एसिस्टेन्ट रेस्पोन्स टिममा गोताखोरहरु पनि छन् । यो टिमले गएको बैशाख महिनामा मात्र सात विदेशीसहित २३ जनाको जीवित उद्धार गरेको छ ।’
फेवातालमा बारम्बार दुर्घटना हुँदा धनजनको क्षतिसँगै पोखराबारे नराम्रो सन्देश जाने भएकाले हुरी र वर्षाका बेला डुंगा सञ्चालनमा रोक लगाउनुपर्ने आवाजसमेत उठ्ने गरेको छ । नागरिक अधिकारकर्मी रामबहादुर पौडेल तालबाट अनेक फाइदा भए पनि प्राकृतिक विपत्तिलाई नजरअन्दाज गर्न नहुने बताउँछन् ।
पाँच दशमलव सात दुई वर्गकिमीमा रहेको फेवाका आठ घाटमा डुंगा व्यवसायी समिति आवद्ध सात सय १२ डुंगा छन् । समितिले विपद्का लागि मोटरबाट चल्ने रेस्क्यु बोट पनि राखेको छ । समिति अध्यक्ष बलराम गिरी यदाकता भवितव्यमात्र हुने गरेकोमा अहिले जोखिम बढेको बताउँछन् । अहिले जथाभावी सर्फिङ, कायक, स्नेटबोट चलाउँदा दुर्घटनाको भय भएको उनको भनाइ छ । तालमा अहिले कायाकिङ सिक्दै गरेकाहरु प्रशस्तै देखिन्छन् ।
तपाईको प्रतिक्रिया