’सामाजिक कार्यका विद्यार्थीले समाजमा धेरै योगदान गर्न सक्ने’

पोखरा ।
विद्यार्थीले समाजमा धेरै योगदान दिन सक्ने बुधबार पोखरामा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर अन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको ‘सामाजिक सेवामा सामाजिक कार्यका स्नातक र गैरसरकारी संस्था’ विषयक कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
स्नातक तहमा सामाजिक कार्य विषय अध्ययन अनुसन्धान गराउँदै आएको लेकसिटीले पछिल्लो समय सरोकारवालासँग विद्यार्थीको संवाद कार्यक्रम आयोजना गर्ने गरेको छ । कार्यक्रममा गैरसरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष राम सुवेदीले युवाले समाजको दिगो विकासमा योगदान दिनुपर्ने भएकाले उनीहरुमा नयाँ सोच आवश्यक रहेको औंल्याए ।
‘सामाजिक कार्यमा आवद्ध संघ, संस्था र शैक्षिक संस्थाका बिच सिकाइ तथा अनुभव आदानप्रदान, अध्ययन, अनुसन्धान र स्वयम्सेवक परिचालनममा सहकार्य गर्नुपर्छ,’ सुवेदीले भने । नेपालमा नागरिक संस्थाहरु राणाकालीन, पञ्चायतकालीन र बहुदलीय प्रजातन्त्रकालीन गरी तीन चरणमा विकास भएका हुन् ।
कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले सामाजिक कार्यलाई जागिरका रुपमा भन्दा पनि मानवसेवाका रुपमा हेर्नुपर्ने विचार राखिन् । समाजमा देखिएका केही समस्या विभिन्न खालका विभेदका कारण सृजना भएको उनको भनाइ छ ।
पोखरा रिर्सच सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले सामाजिक कार्य विषयमा अध्ययनरत विद्यार्थीले अध्ययन, अनुसन्धान, व्यवस्थापन लगायतका क्षेत्रमा आफूलाई कहाँ नेर जोड्न सकिन्छ भनेर ध्यान दिनुपर्ने सुझाव दिए । अध्ययन, अनुसन्धानले मात्र समाजको वास्तविक धरातल थाहा नहुने भएकाले गैरसरकारी संघसंस्थामार्फत अनुभव लिनुपर्ने रेग्मीको भनाइ छ ।
एसओएस चिल्ड्रेनका प्रदीपभक्त आचार्यले सामाजिक कार्य अध्ययन, अनुसन्धान गरेका युवाको आवश्यकता विभिन्न गैरसरकारी संस्थालाई रहेको बताए । आचार्यले सञ्चार सीप, सूचना प्रविधि र अरु ज्ञानका क्षेत्रमा समेत जानकार भएर अगाडि बढ्न विद्यार्थीहरुसँग आग्रह गरे ।
असल छिमेकी नेपालका कार्यकारी अधिकृत दिनेश केसीले सामाजिक कार्यको अध्ययनले समाजसेवाको भावनालाई थप सशक्त बनाउन सहयोग गर्ने धारणा राखेका छन् । तर व्यवहारिक ज्ञानका लागि भने विद्यार्थी काममा पनि लाग्नु संलग्न हुनुपर्ने केसीको भनाइ छ ।
गैरसरकारी संस्था महासंघ कास्कीका निर्वतमान अध्यक्ष डा वुद्धि थापाले सामाजिक कार्यमा संलग्न हुनेले जनताको चासो र चिन्ता केमा छ भनेर पत्ता लगाउन सक्नुपर्ने बताए ।
मानव सेवा आश्रम कास्की संयोजक सदिस पुनले नेपाल आर्थिकरुपमा अरु देशभन्दा कमजोर भए पनि मानवीय भावनामा भने अग्रस्थानमा रहेको स्मरण गरे । कलेजकी पूर्वविद्यार्थी स्वस्तिमा मानन्धरले सामाजिक कार्य अध्ययन अनुसन्धान अन्तर्गत विद्यार्थीले पाउन सक्ने अवसरबारेमा पनि पर्याप्त छलफल हुन नसकेको अनुभव सुनाइन् ।
विद्यार्थी सन्देश शर्माले संविधानमा रोजगारीलाई मौलिक हक र र हालै सरकारले ल्याएको पढ्दै कमाउँदै अभियानबिच सामन्जस्यताको आवश्यकता रहेको बताए । अर्की विद्यार्थी दीपा दवाडीले गैरसरकारी संस्थामा कर्मचारी आवश्यक पर्दा गर्ने विज्ञापनमा सामाजिक कार्य विषय अध्ययन गरेकालाई प्राथमिकता नदिएको गुनासो गरिन् ।
कार्यक्रमकी सभापति अस्मिता रानाभाटले सामाजिक कार्य विषय अध्ययन, अनुसन्धान र कार्य गरिरहेकालाई लाइसेन्सको व्यवस्था गरिनुपर्ने बताइन् । कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले समाजको स्थिति बुझाउन कलेजले विद्यार्थीलाई देशका विभिन्न क्षेत्रको भ्रमण गराउने गरेको जानकारी दिए ।
समाज विज्ञान केन्द्रका संयोजक अनिष पौडेलले लेकसिटी कलेजले विभिन्न संघ, संस्थासँग सहकार्य गरेर आफ्ना विद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभागी गराएको जानकारी दिएका छन् । कार्यक्रममा पोखरा महानगर पालिकाको सामाजिक शाखाकी सूचना अधिकृत चन्द्रावती वाग्ले र समाजशास्त्री डा रामचन्द्र बरालले सामाजिक कार्य विषयमा प्रकाश पारेका थिए ।
लेकसिटी कलेजमा स्नातक तहमा सामाजिक कार्यसहित बिबिएस र बिएमा अंग्रेजी र पत्रकारिता पढाइ हुन्छ ।
तपाईको प्रतिक्रिया