सरुभक्त र तीर्थका कृति एकसाथ

समाधान संवाददाता २०८२ जेठ १६ गते १०:४६

पोखरा ।
साहित्यका बहुविधामा क्रियाशील सरुभक्त र काव्य क्षेत्रमा तल्लीन तीर्थ श्रेष्ठ दुवैका रोज्जा कविता समेटिएका कृतिहरु बिहीबार सार्वजनिक भए । दुई दौतरीका रोज्जा कविता कृति पोखरेली युवा सांस्कृति परिवारले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो ।

Advertisement


साहित्यकार सरुभक्तको ‘सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरु’ र तीर्थको ‘हिउँमा लेखिएका नामहरु’ कृतिकारहरुसहित अग्रज कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’, लोकगायिक हरिदेवी कोइराला, बुकहिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्का लगायतले सार्वजनिक गरे । दुवै कृतिको मूल्य समान ६ सय रुपैयाँ छ ।


सरुभक्तको कविताकृतिमा ५२ कविता छन् भने तीर्थको कृतिमा ५८ । दुवै सङ्ग्रहमा रहेका कविता कविहरुका यसअघि प्रकाशित कृतिसहितका रोज्जा कविता हुन् । दुवै संग्रहका कवितको छनोट साहित्यका सरस्वती प्रतीक्षाले गरेकी हुन् ।
कार्यक्रममा साहित्यकार सरुभक्तले कवितालाई जीवन र जगतको सम्पूर्णताका रुपमा व्याख्या गरे । उनी भन्छन्, ‘कविता एक विराट महासागर हो । कविता र भाव र विचारको सम्पूर्णता हो । कविता जीव र जगतको सम्पूर्णता हो ।’


कवि तीर्थले कवितालाई बौद्धिक कार्यमात्र ठान्न नहुने विचार राखे । उनले भने, ‘कविता मेरानिमित्त बौद्धिक कार्यमात्र होइन, आफैंसँग गर्ने हार्दिक वार्ता हो ।’ कार्यक्रममा दौतरी सर्जकद्वयले एकले अर्कोको व्यक्तित्व र कृतित्वको प्रशंसा गरे । तीर्थले संगतले राम्रो हुन पाएको बताए । ‘म सामान्य व्यक्ति हुँ र कतिपय विषयमा असफल व्यक्ति पनि हुँ । तर सरुभक्त, दुर्गा बराल जस्ता व्यक्तित्वहरुको संगतले सच्चिएको व्यक्ति हुँ ।’


उनले सरुभक्तलाई समकालीन युगको महापुरुषको संज्ञा दिए । भने, ‘सरुभक्त मेरो युगको महापुरुष हो । जो असाधारण व्यक्तित्व हो । समकालीन कविहरुमा सबैभन्दा क्रियाशील, सरल र बौद्धिक पनि ।’

Advertisement


सँगै सरुभक्तले कवि तीर्थका कविता सहृदयी र सरल रहेको बताए । तीर्थको शब्दको गहिराई, भावमा महासागर र काव्यात्मक शैली साँच्चिकै उच्चतम कोटीको भएको उनले बताए । सरुभक्तले भने, ‘समकालीन कविहरुमा देश, समाज र जीवनका सबै पाटालाई स्पर्श गर्न सक्ने कवि हो ।’


अग्रज कार्टुनिस्ट वात्स्यायनले पोखराको मात्र नभई देशकै साहित्यिक क्षेत्र सिंचित गर्न सरुभक्त र तीर्थको महत्वपूर्ण योगदान रहेको विचार राखे । लोकगायिका हरिदेवी कोइरालाले पाँच दशकभन्दा बढी साहित्य र जीवनमा सहकार्य गरेका दौतरीका कविता पछिल्लो पुस्ताका लागि नमुना र उदाहराणीय भएको जनाइन् ।


नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले पोखरालाई चिनाउने धेरै चिजमध्ये सर्जकहरु पनि भएको बताए । पोखरेली युवा सांस्कृतिक परिवारका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाले आधुनिक र प्रयोगवादी कवि सरुभक्त तथा देशप्रेमी र तरलतावादी कवि तीर्थका नयाँ कविताले समकालीन पाठकलाई नयाँ स्वाद दिने उल्लेख गरे ।


कार्यक्रममा बुकहिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्का, समाजसेवी अशोक पालिखे, पोखरेली युवा संस्कृतिक परिवारका सचिव एमडी काफ्ले लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया