फेवा तालमा १८ गते डुंगा दौड हुने

समाधान संवाददाता २०८२ जेठ १६ गते ११:१८

पोखरा ।
पर्यटन राजधानी पोखराको फेवातालको सौन्दर्य बुझाउन र हुन सक्ने भवितव्यबारे जानकारी दिन डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा यही जेठ १८ गते राष्ट्रिय खुला डुंगा दौड प्रतियोगिता हुन लागेको हो ।

Advertisement


फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा प्रतियोगिता हुने पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेवातालबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्न र तालमा हुन सक्ने खतराबारे जानकारी दिन प्रतियोगिता आयोजिना गरिएको आयोजक बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताए ।


‘फेवाको सुन्दरको देश, विदेशमा प्रचार गर्न र सम्भावित भवितव्यबारे सचेतनामूलक जानकारी दिने उद्देश्य छ,’ उनले भने । प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनसमेत सघाउने उनको अपेक्षा छ ।


प्रतियोगिता महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै हुनेछ । महिलातर्फ बाराहीघाटदेखि पारी लिचीगार्डेनसम्म जाने आउने जानेसहित झण्डै २ किलोमिटर तथा पुरुषतर्फ बाराहीघाटदेखि लेक हाउससम्म जाने आउने गरी झण्डै ३ किलोमिटरमा प्रतिस्पर्धा हुने प्रतियोगिता व्यवस्थापन समिति अध्यक्ष बलराम गिरीले जानकारी दिए ।


फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्षसमेत रहेका गिरीले प्रथम हुने टिमले नगद ४० हजार, द्वितीयले नगद ३० हजार, तृतीयले नगद २० हजार तथा सान्त्वनाले १० हजार सहित मेडल, प्रमाणपत्र पुरस्कार पाउने सुनाए ।

Advertisement


पुरुषतर्फ २० टिम तथा महिलातर्फ १० टिमको सहभागिता रहने आयोजकको अनुमान छ । प्रत्येक टिममा तीन जना डुंगा चालक रहने छन् । फेवाका आठ घाटमा डुंगा व्यवसायी समिति आवद्ध सात सय १२ डुंगा छन् ।


तालबाट यो आर्थिक वर्षमा मात्र ३८ जनाको जीवित उद्धार गरिएको छ भने एक जनालाई मृत निकालिएको छ । बेला बेलामा हेलचेक्रयाई र भवितव्यका कारण तालमा दुर्घटना हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया