जनप्रकाश क्याम्पसमा वैज्ञानिक अनुसन्धान लेखन तालिम

समाधान संवाददाता २०८२ जेठ १६ गते ११:३०

पोखरा ।
जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा–२९, भण्डारढिकमा वैज्ञानिक अनुसन्धान लेखन तालिम सुरु भएको छ । अनुसन्धान विभागद्वारा आयोजित तीन दिने तालिम बिहीबारबाट क्याम्पसको सेमिनार हलमा सुरु भएको हो ।

उद्घाटन समारोहमा बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले शैक्षिक अनुसन्धानको आवश्यकता र यसको प्रभावबारे चर्चा गर्दै अनुसन्धानले शिक्षालाई गुणस्तरीय बनाउने र समाज विकासमा टेवा पुर्‍याउने बताए ।


समारोहमा पब्लिक क्याम्पस सङ्घका सल्लाहकार तथा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिरञ्जी गौतम, निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारीले पनि आफ्नो मन्तव्य राखे ।

Advertisement


तालिममा ४६ जना सहभागीहरू छन्, जसमा कालिका बहुमुखी क्याम्पस, कालिका पब्लिक कलेज, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस, जनज्योति बहुमुखी क्याम्पस, सूर्यभक्त पतनदेवी स्मारक कलेज गैडाकोट लगायतका क्याम्पसहरूबाट प्राध्यापक तथा अनुसन्धानकर्ता सहभागी भएका छन् ।


तीन दिनसम्म चल्ने तालिममा अनुसन्धान विधि, वैज्ञानिक लेखन शैली, तथ्यांक विश्लेषण, अनुसन्धान आचारसंहिता लगायतका विषयहरूमा विशेषज्ञहरूले प्रशिक्षण दिनेछन् ।

Advertisement


कार्यक्रमका स्रोत व्यक्तिहरूमा प्रा. डा. मिन पुन, प्रा. डा. शोभाकान्त लामिछाने, प्रा. डा. लेखनाथ भट्टराई, सह–प्राध्यापक डा. अनन्तराज ढुंगाना, डा. पित्रीराज बास्तोला लगायत छन् । तालिम २०८२ साल जेठ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । समारोहमा जनप्रकाश बहुमुखी क्याम्पस पोखरा–२९ भण्डारढिक र जनज्योति क्याम्पसको बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।


सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले सञ्चालन गरेको कार्यक्रम विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रमले सहभागीहरूमा अनुसन्धान लेखन सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै भविष्यमा गुणस्तरीय अनुसन्धान प्रकाशनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमको अध्यक्षता अनुसन्धान विभाग प्रमुख युवराज लामिछानेले गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विजयराज भण्डारी र क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी थिए ।

तपाईको प्रतिक्रिया