ऐनापहरामा ‘स्काइवाक’ बनाइने

दमौली ।
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय स्थल ऐनापहरामा ‘स्काइवाक’ निर्माणका लागि सर्भे सुरु गरिएको छ । आँबुखैरेनी २ स्थित ऐनापहरालाई पर्यटकीय ‘हब’ बनाउने उद्देश्यसहित स्काइवाक निर्माण प्रक्रिया सुरु गरिएको हो ।
हाल भौगोलक अवस्थाका बारेमा आवश्यक अध्ययन भइरहेको बताउँदै स्काइवाक निर्माणपश्चात् यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विश्वास व्यक्त गरे । उनले भने, ‘यस ठाउँ पछिल्लो समय पर्यटकको आकर्षक केन्द्र बनिरहेको छ । सोही कारण यहाँ पूर्वाधार थप्न लागिएको हो । स्काइवाकले यहाँको पर्यटन प्रवर्धन गर्दै साहसिक गतिविधिमा टेवा पु¥याउनुका साथै स्थानीयलाई रोजगारीका अवसर सृजना गर्ने छ ।’
स्काइवाक निर्माणपश्चात् यस क्षेत्रको प्रचारप्रसार हुने बताउँदै चुमानले थपे, ‘यसले यहाँको पर्यटनलाई नयाँ उचाइमा पु¥याउनेछ भने स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउनेछ ।’ पृथ्वी राजमार्गसँगै जोडिएको ऐनापहरा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ ।
बिदा र शनिबारका दिन यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए । ढुंगामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेसँगै स्थानीयको आयआर्जन सुधार हुँदै गएको उनले बताए ।
वडाध्यक्ष गुरुङले भने, ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनासहित आवश्यक प्रक्रिया अगाडि बढाएको छ । राजमार्गसँगै जोडिएकाले पनि यो पर्यटकको रोजाइमा पर्ने गरेको छ ।’ ऐनापहराबाट गाउँपालिकाले हालसम्म ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ ।
राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलका रूपमा विकास भएपछि सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । यहाँ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँको अग्लो महाभारत पर्वत शृंखला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढीखोलाको पानी बगेर झरनामा मिसिएको छ ।
ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन (डिपीआर)तयार गरिएको अध्यक्ष चुमानले जानकारी दिए । उनले डिपिआर अनुसार १० करोड बजेट आवश्यक पर्ने जनाए । त्यहाँ बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने योजना छ । रासस
तपाईको प्रतिक्रिया