सुवेदी कल्याण प्रतिष्ठान कास्कीको सभा

पोखरा ।
सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको जिल्ला समितिको पाँचौ साधारण बिहीबार पोखरामा भयो ।सभाले कार्यसमितिको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
सुकल्प केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले संसारभर छरिएर रहेका सुवेदीहरुलाई एकै ठाउँमा उभ्याउन सुकल्प गठन गरिएको र उद्देश्य अनुसार अघि बढिरहेको बताए । नेपालमा सबैभन्दा बढी सुवेदी कास्कीमा रहेको र गतिविधि पनि कास्कीमै बढी हुने गरेको उनको भनाइ थियो ।
देवीप्रसादले सुवेदीहरुको एकता सधै चीरस्थायी भइरहनुपर्ने बताए । साथै डिजिटल वंशावली तयार पारिएकाले सबैको साथ, सहयोगको उनले अपेक्षा गरे । सभाको अध्यक्षता गरेका सुकल्प कास्की अध्यक्ष डा अनिल सुवेदीले एक वर्षको अवधिमा भए गरेका गतिविधि, भावी कार्यक्रम लगायतका विषयमा प्रष्ट पारेका थिए ।
कोषाध्यक्ष भीमप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा गत वर्ष एसइई परीक्षामा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने सरस्वती टीका माविका प्रतीक सुवेदीलाई सम्मान गरिएको छ । सुकल्प कास्कीका पूर्वसचिव पशुपति सुवेदीले आफ्ना बाबुआमा खडानन्द, पूर्णकला स्मृति पुरस्कारको स्थापना गरेर बर्सेनी २ जना (छात्र र छात्रा) लाई पुरस्कारको व्यवस्था गर्दै आएका छन् ।
गतवर्षको एसइईमा छात्रातर्फ अमरसिंह माविकी समृद्धि सुवेदी यसअघि नै पुरस्कृत भइसकेकी छन् । पुरस्कारको राशि जनही ५ हजार रुपैयाँ छ । पुरस्कार दाता पशुपति सुवेदीलाई पनि उक्त अवसरमा सम्मान गरियो ।
साधारण सभामा सम्मानित व्यक्तित्व पशुपति सुवेदी, सुकल्प केन्द्रीय सदस्य ओम सुवेदी, प्रदेश उपाध्यक्ष देवी सुवेदी, केन्द्रीय सल्लाहकार चक्रपाणि सुवेदी, सदाशिव सुवेदी समाजका सचिव शिवप्रसाद सुवेदी, सिम्पाली इकाइ अध्यक्ष बैकुण्ठ सुवेदी, सुकल्प कास्की उपाध्यक्ष मनहरि सुवेदी र सचिव महेन्द्र सुवेदीले बोलेका थिए ।
तपाईको प्रतिक्रिया