कास्कीका सिडिओको सरुवा, बर्दियाबाट रुद्रादेवी शर्मा आइन्

समाधान संवाददाता २०८२ जेठ १८ गते १८:१६

पोखरा ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) तहमा फेरबदल गर्दै कास्की, बर्दिया, धनुषा र पाँचथर जिल्लामा नयाँ जिम्मेवारी तोकेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएसँगै उनको स्थानमा बर्दियाकी सिडिओ रुद्रादेवी शर्मालाई खटाइएको हो । पाण्डे पोहोर जेठ २१ गते कास्कीमा हाजिर भएका थिए ।

बर्दियामा कार्यरत रहेकी शर्मा अब कास्कीको प्रशासनिक नेतृत्व सम्हाल्नेछिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई कास्कीमा ल्याउने तयारी थियो । यसका लागि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समेत लबिङ गरेका थिए । तर उनी अख्तियारको छानबिनको घेरामा परेपछि रुद्रा शर्मा आउने भएकी हुन् ।

Advertisement

शर्माको स्थानमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

यसै क्रममा धनुषाका सिडिओ रामुराज कडरियालाई पनि मन्त्रालय तानिएको छ भने केही समययता मन्त्रालयमै जिम्मेवारीविहीन अवस्थामा रहेका शंकरहरि आचार्यलाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

Advertisement

पाँचथरमा रिक्त रहेको सिडिओको पदमा अरुण पोखरेललाई पठाइएको छ । पोखरेल यसअघि नवलपरासी (पूर्व) का प्रमुख जिल्ला अधिकारी थिए । पाँचथरका सिडिओ विष्णुप्रसाद कोइराला अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएपछि उक्त पद खाली रहेको थियो ।

तपाईको प्रतिक्रिया