निर्माण श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण अभियान सुरु

समाधान संवाददाता २०८२ जेठ १८ गते १९:३४

पोखरा ।

नेपाल विजुली, पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक ) नेपाल जिल्ला कमिटी कास्कीले सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सूचीकरण अभियानको सुरुवात गरेको छ । क्युपेक नेपालका २९ औं स्थापना दिवसको सन्दर्भमा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा सूचीकरण गर्न लागेको हो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य चूडामणि जंगलीले कार्यक्रमको उद्घाटन गर्दै सामाजिक सुरक्षा योजनाको प्रभावकारी रुपमा कार्यान्वयन भए श्रमिकको जीवनमा सार्थक परिणाम ल्याउने बताए । ‘औपचारिक, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत योजनाले समेटेको छ,’ उनले भने, ‘राज्यका निकाय, रोजगारदाता जिम्मेवार बन्न नसक्दा योजनाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।’ उनले सामाजिक सुरक्षा योजनालाई सफल कार्यान्वयन गर्नको लागि आन्दोलन गर्न आम श्रमिकलाई आग्रह गरे ।

Advertisement

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजना लागु गरेको स्मरण गरे । उनले सामाजिक सुरक्षा ऐन २०७४ तथा कार्यविधि अनुसार अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमिकसमेत सूचीकृत हुन थालेको बताए । उनले हरेक स्थानीय तहले श्रम डेस्क स्थापना गरी श्रमिकको पञ्जीकरणको व्यवस्था गर्न आग्रह गरे । उनले योजनामा अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्नको लागि पालिकाले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्नु पर्नु पर्ने बताए । उनले स्थानीय पालिकाले श्रमिकलाई सूचीकरणको व्यवस्था गरेपछि योजनामा समेटिन सहज हुने उल्लेख गरे ।

सामाजिक सुरक्षा कोष पोखरा कार्यालयका प्रमुख रमेश ढुंगेलले कोषमा सूचीकृत हुने व्यक्तिले औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहायता योजनाका लगायत पेन्सनको सुविधा पाउने जानकारी दिए । उनले कोषमा जोडिने प्रक्रियाको बारेमा अवगत गराए ।

Advertisement

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष लिलाबहादुर कार्कीले अभियान मार्फत धेरै भन्दा धेरै निर्माण श्रमिक कोषमा सूचीकृत गर्ने बताए । क्युपेक नेपाल कास्कीका अध्यक्ष तीर्थराज मगरले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा सूचीकृत गर्ने सवालमा पोखराका मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए । उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा सूचीकृत गर्नको लागि वडा कार्यालयबाट सिफारिसको व्यवस्था गर्न सहजीकरण गर्ने बताए । ‘क्युपेक नेपालको सरोकार सामाजिक सुरक्षा र मर्यादित रोजगार’ भन्ने नाराका साथ भएको कार्यक्रममा क्युपेक नेपालका श्रम सचिव पुण्यप्रसाद उप्रेती, केन्द्रीय सदस्य पार्वती तामाङ, कास्कीका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, कास्कीका उपाध्यक्ष जीवन लामा, सचिव विशाल चौधरी लगायतले निर्माण क्षेत्रका श्रमिकको स्वास्थ्य र सुरक्षाको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया