फेवातालको साँधमा गाडियो २७ पोल

समाधान संवाददाता २०८२ जेठ २० गते २०:४४

पोखरा

फेवातालको संरक्षण तथा सीमांकनका लागि हालसम्म २७ वटा सीमा स्तम्भ (पोल) गाडिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार फेवा किनारमा पुगी कामको प्रगतिका बारेमा जानकारी लिएका छन् ।

Advertisement

सर्वोच्च अदालतको आदेशअनुसार पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघ सरकारको संयुक्त समन्वयमा सञ्चालित सीमांकन कार्य मंगलबार चौथो दिनमा प्रवेश गर्दा नगर प्रमुख स्वयं स्थलगत निरीक्षणमा गएका हुन् ।

बसुन्धरा पार्क क्षेत्रको सिमानामा बुधबार १२ वटा पोल गाडिएको छ। शनिबार ७ वटा, आइतबार ८ वटा र सोमबार १२ वटा गरी हालसम्म कुल २७ पोल गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए ।

Advertisement

निरीक्षणपछि नगर प्रमुख आचार्यले सीमांकन कार्यले फेवाताल संरक्षणमा देखिएको अन्योल हटाउने विश्वास व्यक्त गरे । “ताल नरहे, पोखराको शोभा हराउँछ, भन्दै उनले तालको संरक्षण पोखरावासीको साझा दायित्व भएको उल्लेख गरे  ।

नगर प्रमुखका अनुसार सीमांकनको पहिलो चरण अन्तर्गत पोल गाड्ने कार्य तीव्र गतिमा सम्पन्न हुँदैछ भने दोस्रो चरणमा ताल क्षेत्रभित्र पर्ने अतिक्रमित जग्गाहरूको विस्तृत अध्ययन गरिनेछ। साथै, सर्वोच्च अदालतको आदेश अनुसार ताल किनारबाट ६५ मिटर क्षेत्र खाली गराउने प्रक्रिया क्रमशः सुरु गरिने पनि उनले बताउनुभयो।

फेवातालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा कुल १,०५५ वटा पोल गाड्ने योजना रहेको छ। नगर प्रमुख आचार्यले यस कार्यलाई पोखराको पर्यावरणीय सन्तुलन, जैविक विविधता र सांस्कृतिक पहिचान जोगाउने दीर्घकालीन प्रयासको रूपमा व्याख्या गरेका छन् ।

प्राविधिक टोली, नगर प्रहरी र अन्य कर्मचारीहरूको सहभागितामा सीमांकन कार्य लगातार भइरहेको छ। पोखरा महानगर, प्रदेश र संघ सरकारको समन्वयमा तालको सीमा निर्धारण हुँदै जानु सर्वोच्च अदालतको आदेशको प्रभावकारी कार्यान्वयन भएको भन्दै नगर प्रमुखले नागरिकबाट निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया