लोकगीत प्रतियोगितामा ऊर्जाशील समूह प्रथम

समाधान संवाददाता २०८२ जेठ २१ गते ११:३६

लेखनाथ ।
कास्की नेत्रहीन संघले सोमबार लेखनाथमा आयोजित अपांगता सचेतनासम्बन्धी लोकगीत प्रतियोगितामा ऊर्जाशील नेत्रहीन महिला समूह, पोखरा–२६ प्रथम भएको छ । प्रतियोगितामा नेत्रहीन महिला समूह दोस्रो, नमुना आमा समूह, पोखरा–२६, रिठेपानी तृतीय र नेत्रहीन युवा संघ, बुढीबजारले सान्त्वना स्थान प्राप्त गरे ।

Advertisement


विजेता समूहलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो । पुरस्कार वितरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले भौतिक पूर्वाधारको स्तरोन्नतिले मात्र विकास नहुने भन्दै मानवीय स्रोतसाधनको विकासमा जोड दिए । उनले अपांगताप्रति विभेदभन्दा अवसरको खाँचो रहेको औंल्याए ।


वडा सदस्य सुजता बराल सुनारले वडाले सबै क्षेत्र समेट्ने गरी बजेट विनियोजन गरेको र महिलाको सशक्तीकरणका लागि क्षमता अभिवृद्धि कार्यक्रममा ध्यान दिएको बताइन् । वडा सूचना अधिकारी नवराज सापकोटाले भौतिक पूर्वाधार अपांगमैत्री हुनुपर्ने र क्षमता अभिवृद्धि तथा उद्यमशीलता कार्यक्रममार्फत आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने बताए ।

Advertisement


कार्यक्रम कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको सभापतित्वमा भएको थियो । लोकदोहोरी प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुंगाना, लक्ष्मी आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुख तारा शर्मा, अपांग महासंघका रमेश पोखरेल र संघका उपाध्यक्ष अमृत बरालले बोलेका थिए ।


वडा अध्यक्ष थापाले ४० जना दृष्टिविहीनलाई सेतो छडी, दुई जनालाई ह्वीलचेयर र पाँच जनालाई हेयर एड मेसिन वितरण गरे । प्रतियोगितामा वडा नम्बर २६ का महिला, आमा समूह र दृष्टिविहीनसहित १४ समूह सहभागी थिए । शिवहरि ढुंगाना, तारा शर्मा र रमेश पोखरेल निर्णायक थिए । कार्यक्रम सुनिता ज्ञवालीले सञ्चालन गरिन् भने सुशील गोदारले संयोजन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया