मगर संघ पोखरा–२६ को अध्यक्षमा रामबहादुर राना

समाधान संवाददाता २०८२ जेठ २१ गते ११:५४

लेखनाथ ।
नेपाल मगर संघ, बूढी बजार इकाइ समिति, पोखरा–२६ को १२औँ साधारण सभा तथा दशौँ अधिवेशनले आगामी कार्यकालका लागि रामबहादुर रानालाई अध्यक्षमा चयन गरेको छ ।

Advertisement


सर्वसम्मत रूपमा चयन भएको १५ सदस्यीय कार्यसमितिमा राना पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन् । नवगठित समितिको उपाध्यक्षमा जस्मी थापा मगर, सचिवमा दल बहादुर थापा मगर, सहसचिवमा योगिता माया थापा मगर र कोषाध्यक्षमा भीमबहादुर सोभे मगर छन् ।


यसैगरी, नवगठित समितिको सदस्यहरूमा नेत्रकुमारी आले मगर, कमला सारु मगर, राजु राना मगर, कविन्द्र थापा मगर, लक्ष्मी राना मगर, अल्का राना मगर, चित्रबहादुर थापा मगर, अनिता थापा मगर र हरिशकुमार आले मगर छन् ।

Advertisement


यसअघि, कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ, कास्कीका अध्यक्ष रामबहादुर थापाले नेपालभरि छरिएर रहेका मगर समुदायलाई एकताबद्ध गर्दै पुर्खाले आर्जेको कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । साथै, उनले मगर समुदायले आगामी दिनमा राजनीतिको माध्यमबाट सामाजिक क्षेत्रमा प्रवेश गरी राज्यबाट पाउनुपर्ने सेवा–सुविधा प्राप्त गर्न आवाज उठाउनुपर्ने सुझाव राखे ।


सोही अवसरमा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछा मगरले नेपाल निर्माणको इतिहासमा मगर समुदायको ठूलो भूमिका रहेको प्रसङ्ग उठाउँदै हामीबीच एकता हुन नसक्दा नै राज्यबाट मगर समुदायलाई पछाडि पारिएको बताए । उनले अबका दिनमा अधिकार मागेर होइन, खोसेर लिन सक्नुपर्ने धारणा राखे ।

Advertisement


यसैगरी, कार्यक्रममा नेपाल मगर संघ, कास्की जिल्लाका कोषाध्यक्ष क्याप्टेन भक्त पुन मगरले समाजमा सामाजिक चेतना फैलाउनका लागि राजनीतिमा लाग्नुपर्ने सुझाव राखे । नेपाल मगर संघ, पोखरा महानगरका अध्यक्ष ओम श्रीस मगरले आर्थिक विकासको आवश्यकता र शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।


नेपाल मगर संघ, बूढी बजार इकाइका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर महिला संघकी अध्यक्ष नुनु माया राना, पोखरा महानगरपालिका वडा नम्बर २७ की वडा सदस्य बुद्धिकुमारी थापा मगर, जिल्ला सांस्कृतिक संघकी अध्यक्ष सरिता सारु मगर, नेपाल मगर संघ, बूढी बजार इकाइका संस्थापक अध्यक्ष यमबहादुर थापा, निर्वाचन समितिका संयोजक चन्द्रबहादुर गर्बुजा मगर र निर्वाचन समितिका सदस्य शिवबहादुर थापा मगरलगायतले जातीय एकताको आवश्यकता औँल्याए ।


विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ, बूढी बजार इकाइका सचिव दल बहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कृष्णकुमारी थापाले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया